चित्र मिजार
सिन्धुपाल्चोक । तातोपानी नाकाबाट आयात सहज बन्न थालेको छ । अहिले दैनिक २० वटासम्म मालबाहक कन्टेनर चीनबाट नेपाल आयात हुन थालेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभएको छ । तिहार अघिसम्म चीनबाट दैनिक आठ वटा कन्टेनर मात्रै तातोपानी नाका भित्रिन्थे ।
अहिले चीनबाट तातोपानी नाका हुँदै नेपालतर्फ रासायानिक मल, स्याउ, ओखर, तयारी कपडा, जुत्तालगायतका सामान आयात भइरहेको उहाँले बताउनुभयो । नेपाली ब्यापारीले ल्याएका सयौं कन्टेनर सामान अझैँ चिनियाँ भूभागमा अड्किएको व्यवसायीहरुले जनाएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले नेपाल सरकारको पहलमा नाकाबाट सहज आयात हुँदै गएको जानकारी दिनुभयो । तातोपानी नाका सहज रुपमा संचालनका लागि नेपाल हिमालय सीमापार वाणिज्य संघको नेतृत्वमा नाका आवद्ध व्यापारी व्यवसायीहरु पटकपकटक परराष्ट्रमन्त्री नारायण खड्का, वाणिज्य मन्त्रालयमा, महावाणिज्य राजदुतावसलगायतका सरोकारवाला निकायलाई आग्रह गरे अनुसार उक्त नाकाबाट आयात बढेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
चिनियाँ पक्षले विस्तारै आयात बढाइरहेको छ, ‘यो खुशीको कुरा हो’ श्रेष्ठले हर्ष व्यक्त गर्नुभयो । उहाँले चिनियाँ भूभागमा अड्किएका मालबाहक कन्टेनर नाका भित्रिने संख्या बढेको सकरात्मक पक्ष भएको बताउनुभयो । दशैँ र तिहारपछि तातोपानी नाकाबाट तातोपानी नाका भित्रिने कन्टेनर बढेपछि नेपाली व्यापारीलाई सान्त्वना मिलेको उहाँले बताउनुभयो ।
चीनले नेपालतर्फको सडक, पूर्वाधार, बाढीपहिरो भूकम्पलाई मध्यनजर गर्दे तातोपानी नाकाबाट मालबाहक कन्टेनर पठाउन आलटाल गर्दे आएको थियो । नेपाल सरकारले नाकास्थित बाह्रबिसे तातोपानी सडक र भौतिक पूर्वाधार स्त्तरोन्नति गरेमा चीनले पूर्णरुपमा नाका सञ्चालन गर्नेमा तदारुकता देखाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सडक र पुलहरु व्यवस्थित बनाइएमा चीन र नेपालको व्यापारिक सम्बन्ध बढ्ने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । एक साल बन्ने र अर्को साल भत्किने सडक निमार्णले नाका सहजरुपमा संचालन हुन कठिनाई भएको उहाँले बताउनुभयो ।
नाका संचालनमा सहजता भएपछि तातोपानी बजारमा रौनकता बढेको छ । स्थानीय व्यापारी, ट्रक व्यवसायी, श्रमिकलगायतको आम्दानी बढ्न थालेको छ । नेपाल चीनबीच सबैभन्दा छोटो र सहज रुपमा चिनियाँ सामान राजधानी आइपुग्ने नाका तातोपानी नाका हो । तातोपानी नाकाबाट काठमाडौं ११४ किलोमिटर दुरी रहेको छ । २०७१ सालदेखि उक्त नाका कहिले खुल्ने र कहिले बन्द हुने क्रमले नाका आवद्ध व्यापारी, व्यवसायी विदेश पलायन हँुदै आएका छन् । उक्त नाका पूर्णरुपमा सञ्चालनमा नआउँदा राज्यले ६ अर्ब भन्दा बढी राजश्व गुम्दै आएको छ । डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख अर्जुन सुवालले नाकास्थित ध्वस्त सडकको स्त्तरोन्नतिका लागि दीर्घकालीन परियोजन तयार पार्न थालेको बताउनु भयो । सडक अध्ययन प्रतिवेदन र बजेटबारे नेपाल सरकारलाई प्रतिवेदन बुझाउने उहाँले जानकारी दिनुभयो ।
नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी नाका । दुई देश बीचको मितेरी पुल । चीनबाट नाका भित्रिँदै कन्टेनर ।