कफी बीमालेख र दुर्घटना बीमा निर्देशिका जारी

<span class='c1'>कफी बीमालेख र दुर्घटना</span> <span class='c2'>बीमा निर्देशिका जारी</span>

काठमाडौँ । बीमा समितिले कफी खेती बीमालेख र दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । समितिले कफी खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्न उत्पादनमा आधारित कफी खेती बीमालेख जारी गरेको हो । यस्तै समितिले निर्जीवन बीमा व्यवसायअन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादरसमेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको हो।

कफी खेती बीमाले अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा कीराजन्य कारणले हुने क्षतिको रक्षावरण गर्ने समितिले जनाएको छ।
कफी खेती बीमालेख जारी गर्दा बीमालेख जारी भएको समय (घण्टा र मिनेटसहित) तथा जोखिम प्रारम्भ हुने मिति उल्लेख गर्नुपर्ने र बीमालेखमा उल्लेख भएका सम्पूर्ण सर्त बीमितले पालना गर्नुपर्ने प्रावधान रहेको समितिले जारी गरेको सर्कुलरमा उल्लेख छ । बीमालेखअन्तर्गत कफीको उत्पादन (चेरी) वा बोट वा दुवैको बीमा गर्न सकिने र बीमालेखअनुसार जारी कफी खेतीको बीमाशुल्क बीमाङ्क रकमको ५ प्रतिशतका दरले लाग्ने व्यवस्था गरिएको छ।

यसैगरी सामूहिक रूपमा वा साझेदारीमा गरिएको कफी खेतीको बीमाका हकमा बीमालेखमा आबद्ध प्रत्येक व्यक्तिको छुट्टाछुट्टै दुर्घटना बीमा गरेको हुनुपर्ने र यस्तो बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न नपाइने प्रावधान
रहेको छ । बीमितले बीमा शुल्कबापत भुक्तानी गरेको रकम बीमकको बैङ्क खातामा प्राप्त नभएसम्म बीमकले बीमालेख जारी गर्न नपाउने तर अनुदानमा प्राप्त हुने बीमालेखको हकमा भने अनुदानबाट प्राप्त हुने रकम कट्टा गरी बाँकी रकम बीमकको बैङ्क खातामा जम्मा गरेपछि बीमालेख जारी गर्न पाउने व्यवस्था रहेको छ । बीमा समितिले एक वर्षभन्दा कम अवधिको बीमालेख पनि जारी गर्न पाइने व्यवस्था गर्दै सोमबार दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको हो।

समितिका अनुसार दुर्घटना बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्रै पनि जारी गर्न सकिनेछ भने बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति (घण्टा र मिनेट)सहित उल्लेख गर्नुपर्ने व्यवस्था बीमालेखमा छ।
यस्तो बीमालेख जोखिम प्रारम्भ भएको अर्को वर्ष सोही मितिको अघिल्लो मध्यरात १२ बजे बीमा अवधि समाप्त हुने उल्लेख छ । साथै बीमितको अनुरोधमा निर्जीवन बीमा कम्पनीहरूले छोटो अवधिका लागि बीमालेख जारी गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । छोटो अवधिका बीमालेखमा लाग्ने बीमा शुल्कसमेत अलगअलग तोकिएको छ ।

निर्देशिकाअनुसार एक महिनासम्मका लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एकदेखि तीन महिनाका लागि ५० प्रतिशत, तीनदेखि छ महिनाका लागि ६० प्रतिशत र छ महिनादेखि एक वर्षसम्मका लागि शतप्रतिशत बीमाशुल्क लाग्ने व्यवस्था गरिएको छ । बीमा कम्पनीहरूले व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख गरी दुई प्रकारको बीमालेख जारी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्