विराटनगर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा १ नं. प्रदेश निर्वाचन क्षेत्रबाट तुलसीप्रसाद न्यौपानेले केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
प्रदेश नं. १ को प्रदेशसभा सदस्य समेत रहेका उनले आउँदो महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् । संखुवासभाबाट प्रदेशसभा सदस्य निर्वाचित उनीसँग लामो समय पार्टीमा रहेर काम गरेको अनुभव छ । यसअघिका मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारमा उनी प्रदेश नं. १ का आर्थिक मामिला तथा योेजना मन्त्री समेत भईसकेका छन् । २०२८ सालमा १२ वर्षे कलिलो उमेरमै राजा महेन्द्र विरोधी जुलुसमा सामेल भएर राजनितिक यात्रा सुरु गरेका उनी राल्फा जनगिती अभियानमा सामेल भएका थिए । २०३५ सालमा मालेको लाल रक्षक दलमा संगठित भएर औपचारिक रुपमा राजनिति यात्रा सुरु गरेका न्यौपानेले आफ्नो जीवनको ४३ वर्ष सक्रिय राजनितिक तथा संगठनात्मक कार्यमा बिताएका छन् ।
२०३५/०३६ को जनआन्दोलन र जनसंघर्षमा सक्रिय न्यौपाने निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध जनमत संग्रहमा बहुदलको बुथ एजेण्टको रुपमा समेत जिम्मेवारी बहन गरिसकेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापन कालदेखि नै नेतृत्व बहन गर्दै आएका न्यौपानेसँग शिक्षक संगठनको जिल्ला अध्यक्षको रुपमा काम गरेको अनुभव पनि छ । न्यौपानेले अनेरास्ववियु केन्द्रिय सदस्य भएर निर्दलीय पञ्चायती राज जमेको काठमाडौंमा विद्यार्थी संगठनको पनि नेतृत्व गरेका छन् ।
सानैदेखि विद्रोही स्वभावका न्यौपाने विद्यार्थी आन्दोलन, पेशागत तथा सामुदायिक संघर्ष र पार्टी कामका सिलसिलामा दर्जनौ पटक धडपकड, जेलचलान र अपहरणमा परेका राजनितिक योद्धा हुन् । न्यौपानेसँग २०४७/०४८ मा तेह्रथुम जिल्लाको एमाले पार्टी प्रमुख (तत्कालीन सचिव) रहेर नेतृत्व गरेको अनुभव समेत छ । दुई कार्यकाल संखुवासभा जिल्ला पार्टी कमिटीको प्रमुखको रुपमा पनि उनले जिम्मेवारी बहन गरेका छन् । यस्तै न्यौपानेले २०५१/०५२ मा मनमोहन अधिकारी नेतृत्वको जननिर्वाचित लोकप्रिय प्रथम कम्युनिष्ट सरकारको सुकुम्बासी समस्या समाधान आयोगको सुनसरी जिल्ला अध्यक्षको रुपमा जिम्मेवारीपुर्वक आफ्नो दायित्व निर्वाह गरिसकेका छन् । न्यौपाने गाविस अध्यक्ष, जिविस सभापति र जिविस महासंघको केन्द्रिय सदस्यमा निर्वाचित एक कार्यकालको जनप्रतिनिधि समेत हुन् । उनले पार्टी जिल्ला कमिटी, अञ्चल कमिटी, राष्ट्रिय परिषद र केन्द्रीय निर्वाचन आयोगको जिम्मेवारी पनि पुरा गरिसकेका छन् ।
उनी एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनमा ‘नेपाली क्रान्तिको कार्यक्रम : पुर्ण जनवाद’ नामको छुट्टै दस्तावेज प्रस्तुत गरेको पहिलो व्यक्ति हुन् । एमालेको पाँचौं, छैठौं, सातौं, आठौं, नवौ र दशौंं महाधिवेशनमा जिल्लाबाटै निर्वाचित महाधिवेशन प्रतिनिधि रहेका उनी प्रथम विधान महाधिवेशनको प्रतिनिधि समेत हुुन् । हाल आठौं महाधिवेशन पश्चात उनी केन्द्रिय निर्वाचन आयोगको सदस्य छन् । २०७२ सालको नवौं राष्ट्रिय महाधिवेशनपछि कमिटीविहिन रहेका उनी हाल पार्टीको सदस्य मात्र छन् । १० लाख बढी पार्टी सदस्य रहेको एमालेमा उनी ६८० नम्बरको जिल्लाकै पहिलो पार्टी सदस्य हुन् । आफुसँग लामो समयको अनुभव र निष्ठापूर्वक कार्यसम्पादन गर्ने दृढ इच्छाशक्ति रहेकाले आउँदो महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागी मनोनयन दर्ता गर्ने तयारी रहेको उनले बताएका छन् ।
आउँदो मंसिर ११, १२ र १३ गते चितवनमा हुुन गईरहेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि देशभरिबाट हजारौंले उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशनले पदाधिकारी सहित २२५ सदस्यीय कमिटी टुङ्गो लगाउने छ ।