खोप उपलब्ध गराउन माग

खोप उपलब्ध गराउन माग

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि इजरायल जाने श्रमिकलाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले हाल इजरायल जान स्वास्थ्य परीक्षण गरिरहेका एक हजार १७५ श्रमिकमध्येबाट परीक्षामा उत्तीर्ण भएका श्रमिकलाई खोप व्यवस्थापन गर्न पत्राचार गरिएको हो ।

मन्त्रालयले इजरायल जान छनोट भएकालाई हाल नेपालमा मान्यताप्राप्त सात प्रकारका खोपमध्ये कुनै एकको व्यवस्था गर्न अनुरोध गरेको हो । श्रम मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा मोडर्ना, फाइजर, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका, कोभिसिल्ड, सिनोफार्म वा सिनोभ्याकमध्ये कुनै एउटा खोपको व्यवस्था गर्न आग्रह गरेको हो ।

वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीका लागि स्वास्थ्य परीक्षणमा समेत सफल भएकालाई नेपालमा उपलब्ध कुनै एक खोपको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ । विभागले खोप नलगाएका युवाका लागि सरकारले मान्यता दिएको कुनै पनि खोप लगाउन सकिने जनाएको छ ।

विभागले खोपको व्यवस्थामा सहजीकरण गर्न अनुरोधसहितको स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको छ । इजरायलले नेपालमा मान्यता पाएका जुनसुकै खोप लगाउन सक्ने जनाएपछि मन्त्रालयले खोपका सबै विकल्पसहित स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको हो ।
आइतबारसम्म अन्तिम छनोटमा परेका ५०० भन्दा बढी युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम सम्पन्न भएको छ । यसैगरी बाँकी रहेका ६७५ जनाको भने आइतबारबाट स्वास्थ्य परीक्षणसहित प्रहरी प्रतिवेदनको काम भइरहेको विभागले जनाएको छ ।

विभागले स्वास्थ्य परीक्षण गरेका युवाको रिपोर्ट इजरायल पठाएपछि श्रमिक र रोजगारदाताबीच श्रम सम्झौताको काम हुने जनाएको छ । विभागले रोजगार सम्झौता भएका श्रमिकलाई क्रमशः अभिमुखीकरण, श्रम स्वीकृतिलगायत काम गर्नेगरी तयारी गरेको जनाएको छ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक श्रमिकको अन्तिम छनोटका लागि नेपालले पिवालाई उपलब्ध गराएको योग्यताक्रम सूचीका एक हजार ६०० जना उम्मेदवारमध्येबाट एक हजार १७५ रोजगारीका लागि योग्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्