पुनर्निर्माण अन्तिम चरणमा

<span class='c1'>पुनर्निर्माण अन्तिम</span> <span class='c2'>चरणमा</span>

ललितपुर । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ती क्षेत्रका सम्पदाको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भइसकेको छ । काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामध्ये ललितपुरको पाटन क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाको पुनर्निर्माण सबैभन्दा अगाडि रहेको छ ।

भूकम्पले क्षतिग्रस्त सो क्षेत्रमा मुख्य रूपमा रहेको कृष्ण मन्दिर, विश्वनाथ मन्दिर र चार नारायण मन्दिरलगायतका सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । पुरातत्त्व विभागको प्राविधिक स्वीकृतिमा सो क्षेत्रका सम्पदाको पुनर्निर्माण भइरहेका छन् । पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाको पुनर्निर्माण अन्तिम चरणमा रहेको बताउँदै पुनर्निर्माणको काम ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सो क्षेत्रका सम्पदाको मुख्य काम (सुपर स्ट्रक्चर) सम्पन्न भइसकेको छ । सामान्य काममात्र बाँकी छन् ।’’ भूकम्पले पाटन दरबार क्षेत्रका सुन्दरी चोक, उत्तरी तलेजु, दक्षिणी तलेजु, बहादुर शाह बैठक भवन तथा मूल चोक, कृष्ण मन्दिर, चार नारायण मन्दिर, विश्वेश्वर, मणिमण्डप, हरिशङ्कर मन्दिर, योगनरेन्द्र मल्लको सालिकलगायत सम्पदामा क्षति पु-याएको थियो । ५० रोपनी क्षेत्रफलमा फैलिएको यस दरबार क्षेत्रमा विभिन्न धार्मिक एवम् ऐतिहासिक महत्त्वका सम्पदा र चोक छन् ।

काठमाडौँ संरक्षण कोषका निर्देशक रोहित रञ्जितकारले पाटन दरबार क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त भएका २२ सम्पदामध्ये २० वटाको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘क्षतिग्रस्त भएकामध्ये एउटा सम्पदा पुनर्निर्माणको अन्तिम चरणमा छ भने एउटाको सुुरु हुन सकेको छैन।
भीमसेन मन्दिरको पछाडि रहेको लाखे आगमः मन्दिरको पुनर्निर्माणका लागि स्रोत जुटाउने काम भइरहेको छ ।
निर्देशक रञ्जितकारले भन्नुभयो, ‘‘भूकम्पबाट सो क्षेत्रमा रहेका ३० वटा सम्पदामध्ये २२ वटामा क्षति पु-याएको थियो । जसमध्ये छ वटा पूर्ण रूपमा ढलेको थियो भने बाँकीमा संरचनागत क्षति पुगेको थियो । ’’ सो क्षेत्रमा नेपालका लागि अमेरिकी, जर्मन, जापानी र श्रीलङ्कन राजदूतावास तथा ललितपुर महानगरको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेका छन् । करिब २० करोड रुपियाँको लागतमा यस क्षेत्रको सम्पदाको पुनर्निर्माण सम्पन्न हुन लागेको हो ।

सो क्षेत्रमा अमेरिकी राजदूत कोषद्वारा कृष्ण मन्दिर, बहादुर शाह दरबार, चार नारायण मन्दिर, मूलच्छु र तलेजुको मन्दिर पुनर्निर्माण भएको हो । अबको डेढ वर्षभित्र यहाँका सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

सो क्षेत्रमा ललितपुर महानगरको आर्थिक सहयोगमा नरसिंह मन्दिर र भाइदेगः मन्दिर पुनर्निर्माण भएको हो । भीमसेन मन्दिरको पुनर्निर्माणमा काठमाडौँ संरक्षण कोषले प्राविधिक सहयोग गरेका हुन् भने आर्थिक स्रोत जुटाउने काम ललितपुर वाणिज्य सङ्घ र मङ्गल टोल सुधार समितिले गरेको हो ।
उहाँका अनुसार, पाटनको सङ्ग्रहालयको पुनर्निर्माण पुरातŒव विभागको लगानीमा भएको हो । दरबार क्षेत्रमा रहेको शिव मन्दिर १९९० सालको भूकम्पमै क्षतिग्रस्त भएको थियो । त्यसपछि त्यसको पुनर्निर्माण गरिएको थियो । २०७२ सालको भूकम्पले सो मन्दिर पुनः क्षतिग्रस्त भएपछि १९९० सालभन्दा अघिको शैलीमा सो मन्दिर पुनर्निर्माण गरिएको निर्देशक रञ्जितकारले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्