विराटनगर । विराटनगरमा २ दिनदेखी फोहोर संकलन गर्ने मजदुरहरुले आन्दोलन गरेका छन् ।
दैनिक २ सय ६० मा रोजी र मासिक ८ हजार मात्रै तलव पाउने गरेका कारण बुधबारदेखी विराटनगरमा फोहोर संकलन गर्दै आएका मजदुर तथा कर्माचारीहरुले काम रोकेर आन्दोलनमा उत्रिएका छन् ।
विराटनगर महानगरपालीकाले अहिले ३ वटा निजी कम्पनीलाई महानगरभित्रको फोहोर उठाउने जिम्मा दिएको छ ।
महानगरपालिकालाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजन गरेर फोहोर व्यवस्थापनको काम सुरु गरिएको हो ।
पाँचवर्ष अगाडी वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रा.लि.ले मासिक ११ लाख ३५ हजार रुपिँया महानगरले बुझाउने गरि फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी लिइएको थियो । गत मंसिर १ गतेदेखि लागु हुने गरि महानगरपालिकाले भुक्तानी गर्नुपर्ने दायित्व ४ लाख ३५ हजार एक रुपिँयामा झार्दै तीन कम्पनिलाई फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी दिइएको हो ।
महानगरको उत्तरी क्षेत्र अन्तर्गत वडा नं १,२,३,४,५ र १९ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी नेपाल फुलबारी बेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रा.लि.ले लिइएको छ ।
त्यस्तै विराटनगरको मध्यभाग अन्तर्गत वडा नम्बर ६,७,८,९, १० र ११ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपाल नामक सस्थाले जिम्मा लिइएको छ ।
त्यसैगरी विराटनगरको दक्षिणी भेग वडा न १२, १३,१४ १५ १६ १७ र १८ आर एसडी सप्लायर्स सर्भिसेज प्रा.लि.ले फोहोर संकलन र व्यवस्थापन गर्ने गरी सम्झौता गरेको छ ।
अहिले तलब वृद्धी गर्नुपर्ने माग राख्दै विराटनगरको मध्यभाग अन्तर्गत वडा नम्बर ६,७,८,९, १० र ११ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी पाएको स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपाल नामक सस्थाका मजदुरहरुले आन्दोलनमा छन् ।
विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै तीनवटा कम्पनिलाई जिम्मेवारी दिएपनि समस्या जस्ताको त्यस्तै छ ।