योगराज आशिष दाहाल
मैले पनि आन्दोलन गरेको छु,आन्दोलन गर्छु पनि ! समय परिवर्तन,व्यवस्था परिवर्तन भयो । विरोध र आन्दोलनको परिभाषा परिवर्तन भएको छैन् ।
शैक्षिक क्षेत्रको अन्याय,अत्याचार विरुद्धको आन्दोलन गर्दा शान्तिपुर्ण नगर्ने त ???सबै कुरा आवेसमा आएर गर्नुपर्ने ? तात्तातो रगत छ भन्दैमा अर्काको सम्पत्तिमा तोडफोड गर्नुपर्ने ? विद्यार्थी नेताहरु भने अझै तोडफोड, चक्का जाम र जन-धनकै क्षति गर्छौ भन्दै धम्की दिदै हिड्छन ! त्यसो भन्नू जायज कुरा हो त ? म आन्दोलन विद्यार्थीको हितको निमित्त मात्र गर्छु ! कसैलाई बनाउन अनि कसैलाई बिगार्न म आन्दोलन गर्दिन !
विद्यार्थीको हितमा लड्दै गर्दा अस्पतालमा ढुङ्गा मुढा गर्ने साच्चै विद्यार्थी नै हुन् त ? दुई चार लाठी खाने बित्तिकै अस्पताल र अस्पतालको मर्यादा बिर्सेर ढुङ्गा मुढा गर्ने नत विद्यार्थी हुन् नत नेता हुन् । विद्यार्थी र नेतालाई लाठ्ठी हान्न आदेश दिने,लट्ठी चार्ज गर्ने दुबै अपराधी हुन् ! विद्यार्थी भएको नाताले विद्यार्थी विरुद्ध भएका हरेक अनैतिक र चरम लूट विरुद्ध खबरदारी गर्नेछु तर अमर्यादित र उत्शृङ्कल गतिविधिको समर्थन चाहिँ गर्ने छैन,बरु यसको सट्टा म शैक्षिक क्षेत्रको उन्नति र प्रगतिको निमित्त अघि बढ्दा,अन्याय अत्याचार बिरुद्धमा शान्तिपुर्ण आन्दोलन र बिरोध गर्ने क्रममा केही सकिन भने न्यायको निमित्त अदालतको ढोका ढकढक्याउन जान्छु भन्ने जस्ता बुद्धि हाम्रा आन्दोलनकर्ता र हामीमा कहिले आउने ????
आन्दोलन भन्ने बित्तिकै धेरै विद्यार्थी र विद्यार्थी नेताको मगजमा बन्द, हडताल, ढुङ्गा मुढा, कालो मोसो, तालाबन्दी र गाडी भवन तोडफोड र जलाउनु आउँछ । किन नआओस त उहाँहरु परम्परागत परम्परा यस्तै अङ्गाल्दै आइरहनु भएको छ ! उहाँहरुले यस्ता आन्दोलन नियाल्दै र गर्दै आइरहेका हुनुहुन्छ । यो आन्दोलनको स्वरूप नभएर विनाशको बाटो हो । आन्दोलनले भएका सम्पत्ति, सम्पदा र सामर्थ्यलाई हानी र कमजोर गर्नु सिङ्गो देशलाई अँध्यारोमा धकेल्नु हो । आन्दोलनको उपलब्धि फाइदाजनक हुनुपर्छ । आन्दोलन रचनात्मक, विवेकात्मक र सृजनशील हुन जरुरी छ । शान्तिपूर्ण बाटो रोज्नु को उपाय भनेको ,न्यायिक हिसाबले जानु,अदालतको ढोका ढक्ढक्याउनु हो !टेबल टक गर्न सकिन्छ,संयम भएर वार्ता गर्न सकिन्छ ,कसैको मध्यस्थतामा समस्याको समाधान गर्न सकिन्छ !
जवसम्म विद्यार्थी के हो ? विद्यार्थी राजनीति के हुनुपर्थ्यो ?
विद्यार्थी राजनीति के भयो भन्ने बिषयमा गहन छलफल र बहस गरिदैन तवसम्म यस्तै परम्परागत राजनितिक आन्दोलन कुरितिजन्य आन्दोलनले हामी जो कोहिलाई पिरोलिरहन्छ !अन्त्यमा, विद्यार्थी राजनीति केवल कोहिलाई बनाउने,कोहिलाई बिगार्ने मुसो बिरालोको खेल होइन्,कमाइ खाने भाँडो होइन । न त सत्ता पद शक्ती प्राप्तिको खेल । विद्यार्थीमा ज्ञान,सीप,क्षमता,अनुभव वृद्धि सँगै देश विकासको खाका यही थलोबाट गरिनुपर्दछ । देश कस्तो हुनुपर्छ, राष्ट्रियता ,राष्ट्र स्वधिनताको निमित्त अघि बढ्नुपर्छ ।
अन्याय विरुद्धमा लड्ने,सावधान गर्ने सिपाही, सञ्चार पुर्याउने हुलाकी, समाजसेवा गर्ने समाजसेवी लिएर हरेक क्षेत्रका दक्ष विज्ञ जन्माउने साधन हो विद्यार्थी सङ्गठन । सकारात्मक सोच अनि स्वच्छ छविको लोकप्रिय बौद्विक जमात बनिरहोस् विद्यार्थी सङ्गठन,बनिरहुन विद्यार्थी नेताहरु !