साढे १३ वर्षमा २८९ गैँडा मरे

<span class='c1'>साढे १३ वर्षमा</span> <span class='c2'>२८९ गैँडा मरे</span>

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विसं २०६५ असारदेखि हालसम्म निकुञ्ज र वरिपरिका क्षेत्रमा २८९ वटा मरेका जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी गैँडा मरेका छन् । उक्त वर्ष मरेका ४३ गैँडामध्ये १३ वटा पोथी, नौवटा भाले तथा बाँकी गैँडाको लिङ्ग पहिचान गर्न नसकिएको तिवारीले बताउनुभयो ।

सो वर्ष वयस्क गैँडाको धेरै मृत्यु भएको उल्लेख गर्दै सूचना अधिकारी तिवारीले धेरै गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको बताउनुभयो । वयस्क तथा वृद्धावस्थाका १६ वटा, पाँच वर्षमुनिका सातवटा तथा बाँकीको कङ्कालमात्रै भेटिएको कारण उमेर पत्ता लगाउन नसकिएको तिवारीको भनाइ छ । त्यसैगरी सोही वर्ष आठ गैँडा जुधेर, गोहीको आक्रमणबाट एउटा, सेफ्टी ट्याङ्कीभित्र खसेर एउटा, खाल्डामो खसेर एउटा, बिरामी भएर एउटा, वृद्धावस्थाका कारण दुई तथा आठवटा गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको तिवारीले जानकारी दिनुभयो ।

चितवन निकुञ्जमा २०६५/६६ मा १७, २०६६/६७ मा २५, २०६७/६८ मा १६, २०६८/६९ मा १३, २०६९/७० मा १० गैँडा मरेका थिए । त्यस्तै आव २०७०/७१ र २०७१/७२ मा ११/११ वटा, २०७२/७३ मा १४, २०७३/७४ मा २५, २०७४/७५ र २०७६/७७ मा २६/२६ वटा, २०७७/७८ मा ३३ वटा गैँडा मरेका निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार चालु आवको हालसम्म १९ वटा गैँडा मरेका छन् ।

चालु आवमा मरेका १९ गैँडामध्ये दुईवटा गैँडा चोरी शिकारी, प्राकृतिक कारणले तीनवटा, सिमसार तथा बालुवामा फसेर सात, एकापसमा जुधेर चार, बाघको आक्रमणबाट एक, दुईवटा गैँडाको कङ्कालमात्रै भेटिएका कारण मृत्युको कारण पत्ता नलागेको तिवारीले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जले गैँडा संरक्षणका लागि विभिन्न पहल गर्दै आएको भए पनि चोरी शिकारी नियन्त्रण गर्न भने असफल देखिएको छ । निकुञ्जले पछिल्लो साढे १३ वर्षको अवधिमा विभिन्न समयमा गरी तीनपटकसम्म शून्य चोरी शिकारी नियन्त्रण वर्ष मनाउन सफल भएको थियो ।

चोरी शिकारी शून्य बनाउन भन्दै निकुञ्जले मध्यवर्ती क्षेत्रको समुदायमा चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानसहित विभिन्न समूह तयार पारेर वर्षेनी ठूलो बजेट छुट्याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । समुदायमा संरक्षणसम्बन्धी चेतना बढ्दै गएको भए पनि पछिल्लो समय चोरी शिकारीका कारण गैँडा मर्नुले निकुञ्जको सुरक्षा व्यवस्थामा भने प्रश्न उठेको छ । निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको टोलीले नै निकुञ्जभित्रका विभिन्न ५८ स्थानमा राखिएको छ ।

त्यस्तै हिउँदको समयमा विभिन्न योजना थप गर्दै निकुञ्जभित्र सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय चितवनमा पर्ने भए पनि यो निकुञ्ज विभिन्न चारवटा जिल्लाको १२ वटा स्थानीय तहमा फैलिएको छ । चितवनका पाँच पालिका, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पाँच पालिका, मकवानपुर र पर्साको एक-एकवटा स्थानीय तहमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जको जम्मा क्षेत्रफल ९५२ वर्ग किलोमिटर छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्