विराटनगर । सरकारले पेट्रोलियमको भाउ बढाएको भन्दै विराटनगरमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन्
।
नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको थियो ।
सरकारले पटक पटक पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै अनेरास्ववियु विद्यार्थी संघठन मोरङले बिहीबार साँझ विराटनगरको महेन्द्र चौकमा नाराबाजी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । सरकार विरुद्ध चर्को नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि प्रहरी विद्यार्थी विच केहीबेर घम्साघम्सी भएको थियो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ । निगमले आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले मुल्य वृद्धि गरेको छ । अब, आन्तरिक हवाई इन्धनको मुल्य १०६ रुपैयाँ प्रतिलिटर पुगेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ ।