विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका-४ कोप्चेमा आज बिहान भएको आगलागीमा परी स्थानीय ६७ बर्षीया वृद्धा चुलिमाया लिम्बुको मृत्यु भएको छ ।
बिहान करिब ८ बजेको समयमा स्थानीय संगिता मादेनको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रविन आङबोहाङको घरमा समेत आगलागी हुँदा सोही घरमा डेरा बस्ने चुलिमायाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त आगलागीबाट संगिता मादेनको २ तले कच्ची घर जलेर नष्ट भएको र आङबोहाङको घर आंशिक रुपमा जलेर क्षति भएको छ । सो आगलागी स्थानीयवासी र सुरक्षाकर्मी तथा दमकलको सहयोगमा बिहान करिब ९ बजे नियन्त्रणमा आएको थियो ।
घटना बारेमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।