गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

<span class='c1'>गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज</span> <span class='c2'>विविध कार्यक्रम आयोजना गरी मनाइँदै</span>

काठमाडौं । नेपालमा नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

वि.सं. २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफूअनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभंग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।

वि.सं. २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफँै मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।

कोइरालाकै नेतृत्वमा वि.सं. २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न सहमत भएका थिए । जसलाई नेपाली 'म्याग्नाकार्टा' पनि भनिन्छ । आन्दोलन सफल भएपछि उनी चौथोपटक प्रधानमन्त्री बनेका थिए । पुनर्स्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलंकारिक राजाका रूपमा सीमित गरेको थियो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा ६ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बीपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिष्पर्धामा सहभागी भएको थियो ।

चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभार समेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाहवंशीय राजसंस्थाको अन्त्य भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । बोलेको कुरा पुर्‍याउने राजनेताका रूपमा स्थापित कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी उनको १२औँ स्मृति दिवस मनाउँदै छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्