विराटनगर । चर्चित राजनीतिज्ञ दिलीप धाडेवा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
घाडेवालाई विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने सर्तमा राप्रपाले बोलकबोल गरेर पार्टी प्रवेश गराइएको हो। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री प्रहलादप्रसाद साह, प्रवक्ता ज्ञानेन्द्र शाही, महिला नेतृ रेखा थापालगायतका केन्द्रीय नेताहरूले धाडेवालाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका छन्। घाडेवाको सम्पूर्ण जीवन राजनीतिमा नै वितेको छ । धाडेवाको राजनीतिक जीवन मात्रै होइन, करोडौं रुपैयाँ मूल्य बराबरको जग्गाजमिन र आलिसान महल राजनीतिमा नै सकिएको छ। नेपाल सद्भावना पार्टीबाट राजनीति शुरू गरेका धाडेवा आधा दर्जनभन्दा बढी पार्टी परिवर्तन गरेका छन्। नेपाल सद्भावना पार्टी, सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, नेपाली कांग्रेस प्रवेश गरेर लामो समयसम्म पार्टीमा काम गरेको अनुभवी व्यक्ति हुन् । घाडेवा नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरमा चुनाव लड्न इच्छुक थिए। तर कांग्रेसमा मेयरमा आकक्षी धेरै रहेकोले धाडेवाले टिकट पाउने सम्भावना न्यून थियो । राजनीतिको उत्तरार्धमा पुगेर धाडेवा मेयरमा चुनाव नलडी नछाड्ने दृढ संकल्पका साथ अगाडि बढेपछि कांग्रेसले उनलाई खासै महत्व दिएन ।
कांग्रेसले वडावडाबाट मेयरको नाम सिफारिस गर्दा कुनैपनि वडाबाट घाडेवाको नाम मेयरको लागि सिफारिस भएन। यस्तो अवस्थामा धाडेवालाई राप्रपाले मेयरमा चुनाव लड्ने प्रस्ताव गरेपछि उनी निर्धक्क बुधबार पार्टी प्रवेश गरेका छन् ।
आजको यो समाचार(न्यू सृष्टि दैनिक)मा प्रकाशित छ।