विराटनगर । सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भई नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालमा कार्यरत डा. विजय यादवको हत्या की मृत्यु भन्ने यकिन गर्न प्रहरी पोष्टमार्टम र भिसेरा रिपोर्टको प्रतिक्षामा छ । यदुनन्दन यादवका एकमात्र छोरा डा. विजय गत शनिबार शंकास्पद अवस्थामा विराटनगरस्थित डेरामा मृत फेला परेका थिए । परिवार र आफन्तले योजनावद्धे हत्या गरिएको दावी गर्दै प्रहरीलाई अनुसन्धानका लागि दवाव दिर्दै आएका छन् ।
आफन्तले शनिबार विराटनगरमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ध्यानाकर्षण गराएका छन् । प्रहरीले घटनाको अनुसन्धानलाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताइन्छ । भारतमा आईपीएल क्रिकेट प्रतियोगिता चलिरहेको र त्यसमा बाजी लगाएर रकम नदिएको वा सँगै होटलमा बसेर मदिरा खाने साथीहरुबाटै घटना घटाइएको हुनसक्ने कोणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ ।
डा यादवको मृत्यु स्वभाविक नरही अन्यत्रै हत्या गरेर घटना लुकाउन डेरा अगाडी शव फालेको हुनसक्ने संघर्ष समितिका अध्यक्ष हिरा यादवले बताउँछन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । सबै कोणबाट अनुसन्धान गर्दै आएको डिएसपी श्रेष्ठको भनाई छ । प्रहरीले यस घटनामा डा. यादवसँगै होटलमा राती अबेरसम्म खानपीन गर्ने दुई जना साथीलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरू गरेको छ । त्यस बाहेक ७ महिना अगाडी डा. यादवसँग झगडा गरेको साथीलाई पनि नियन्त्रणमा लिइएको छ ।
प्रहरीले यस घटनामा ८ जनालाई ‘अभद्र व्यवहार’ को मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको छ । ती आठमध्ये ६ जना त्यहि दिन यादवको शव भेटिएको घर नजिकै झगडा गर्नेहरु हुन् । हत्या वा दुर्घटना भन्ने यकिन पोष्टमार्टम रिपोर्ट र भिसेराले खुलाउँछ, डिएसपी श्रेष्ठले भने–अनुसन्धानका धेरै कोण छन् ।
अनुसन्धानको प्रारम्भिक पोस्मार्टम रिपोर्टमा डा. यादवको भित्री चोटपटक र रगत जमेको कारणले दुर्घटनाको आशंका गरिएको छ । यादवको अहिलेसम्म हत्या नै भएको हो भन्न सक्ने कुनै प्रमाणहरू फेला पार्न नसकेको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारीहरू बताउँछन् । ‘सिसी टिभी, कल डिटेल रिपोर्ट (सिडीआर) समेत प्रहरीले परीक्षण गरिरहेको छ ।