म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत चयन भएका छन् ।
काँग्रेस नगर समितिले बेनी नगरपालिकाको प्रमुखमा १० आकांक्षीलाई जिल्ला समितिमा गरेको सिफारिस अनुसार शुक्रबार बसेको काँग्रेस म्याग्दीको पदाधिकारीको बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी नौ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए ।