विराटनगर । नेपाली काँग्रेस महानगरले चारदिन अगाडी विराटनगरमा मेयरका आकांक्षीको नाम सिफारिस गरेको थियो । चर्चामा भएका नामहरुलाई नै महानगर समितिले सिफारिस गरेसँगै टिकट कसले हात पार्ने भन्ने दौडधुप सुरु भएको छ । महानगर समितिले केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, प्रदेश सदस्य गोपाल रेग्मी, वर्तमान मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की , जिल्ला उपाध्यक्ष नागेश कोइराला र महानगरका सभापति दिपक चापागाँईको नाम सिफारिस गरेको थियो ।
नाम सिफारिस भएको दिनदेखि संभावित मेयरका दाबेदार बनेका सबैजना काठमाण्डौंमा दौडधुपमा रहेका छन् । महानगरका सभापति दिपक चापागाँईले आफु काठमाण्डौंमै रहेको र टिकट पक्का गरेर फर्कने बताउनुभयो । उहाँले अहिले मेयरमा सिफारिस भएका सबै नेताहरु काठमाण्डौंमै केन्द्रीत रहेको बताउनुभयो ।
विराटनगरका मेयर भीम पराजुलीले केहिदिन अगाडी काठमाण्डौंमै रहेको सन्देश दिन पशुपतिका मुल भट्टसँग आर्शिवाद लिइएको फोटो हाल्नु भएको थियो । अर्की केन्द्रीय सदस्य डा.डिला संग्रौला विराटनगरका विभिन्न वडामा पार्टी केन्द्रीत घरदैलो कार्यक्रममा सरिक भएर काठमाण्डौं नै फर्कनु भएको थियो ।
त्यस बाहेक पार्टीका नेताहरु समेत काठमाण्डौं केन्द्रीत हुँदै विराटनगरमा आवश्यकता पर्दा आउने र जाने गरिरहेका छन् । कसले टिकट लिएर आउने भन्ने कुराको सन्तुलन मिलाउन सबै समूहलाई एकिकृत गर्नुपर्ने भएकोले नेताको घरघरमा पुग्न व्यस्त रहेका हुन् ।