विराटनगर । विराटनगरका अग्रज पत्रकार शंकर खरेल रोटरी इन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् । खरेल विराटनगरबाट प्रकाशित हुदै आएको न्यू सृष्टी दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक हुन् ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानले काठमाडौंको प्याडिसन होटलमा आयोजित एक विशेष समारोहबीच ‘जन अवार्ड’ प्राप्त गरेको हो। पुरस्कार छनौट समितिकी संयोजक मन्जु लामिछानेले रोटरी अभियानलाई संचार माध्यमबाट टेवा दिएको आधारमा पुरस्कार प्रदान गरेको हो। पत्रकार खरेललाई प्रदान गरिएको पुरस्कारको राशि रु ३० हजार ५ सय नगद र सम्मानपत्र रहेको छ । रोटरी क्लब इन्टरनेशनल नेपाल भुटान डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल लगायतले कार्यक्रममा खरेललाई सम्मान गरेका थिए ।खरेलले यस अघि लायन्स राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् । ३ दशकदेखि पत्रकारितामा सक्रिय रहेका खरेलले नेपाल जेसिजको वर्ष पुरुष सम्मान समेत पाइसकेका छन्।

असार २० गते हुने रोटरी क्लव अफ विराटनगर डाउन टाउनको पदस्थापन कार्यक्रममा समेत खरेललाई विशेष सम्मान गरिने भएको छ । खरेल पत्रकारिता संगै साहित्य सिर्जना र समाजसेवामा समेत योगदान दिन रुचाउँछन् ।