अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित : अस्पतालमा बढ्यो बिरामीको चाप

<span class='c1'>अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित</span> <span class='c2'>: अस्पतालमा बढ्यो बिरामीको चाप</span>

विराटनगर । असार दोश्रो सातायता पानी नपरेपछि अत्याधिक गर्मीका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ ।

मनसुन ब्रेकका कारण लामो समयसम्म पानी नपरेपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा समेत नचलेपछि यसले जनजीवन अस्तव्यस्त बनाएको वातावरण विद्हरुले बताएका छन् । तुलनात्मक रुपमा गर्मी बढ्दा यसले शरीरमा घमौरा आउने, लु लाग्ने र मान्छे बेहोस हुने लगायतका समस्याहरु देखिन थालेको छ । अत्याधिक गर्मीका कारण अस्पतालहरुमा समेत विभिन्न समस्या लिएर आउने बिरामीहरुको चाप बढेको छ । बिशेषगरी सर्पदंश, ज्वरो, रुघाखोकी, झाडापखाला, प्रेसर र छाला रोगका बिरामीहरुको चाप बढेको विराटनगरस्थित कोशी अस्पतालले जनाएको छ । यस्तो अवस्थामा व्यक्तिगत सुरक्षा सतर्कता अपनाउनुपर्ने आवश्यक रहेको अस्पतालको आकस्मिक कक्षका इन्चार्ज गजेन्द्र यादवले बताउँछन् । ‘गर्मीका कारण अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढेको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा आफ्नो सुरक्षाका लागि प्रशस्त मात्रामा पानी पिउने, छाला छोपिने गरी लुगा लगाउने र अत्यावश्यक कार्य बाहेकको अवस्थामा घर बाहिर ननिस्कने लगायतका उपायहरु अवलम्बन गर्नुपर्छ ।’

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार पछिल्लो २ सातायता प्रदेश १ मा गर्मी बढेको हो । गतवर्ष असार महिनामा पनि अत्याधिक गर्मी भएपनि नियमित पानी परेको थियो । तर, मनसुन ब्रेकका कारण यसपटक पानी समेत नपरेपछि गर्मीको प्रभाव बढी देखिएको हो । यद्यपि, बुधबारदेखि केहीदिनसम्म नियमित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले बताए । ‘पानी नपरेको हुनाले बढी गर्मी महशुस भएको हो । यद्यपि बुधबारदेखि केहीदिनसम्म पानी पर्ने सम्भावना देखिएको छ ।’

नियमित वर्षाको अभावमा स्वास्थ्य समस्याका साथै किसानहरु पनि मर्कामा परेका छन् । पानीको अभावमा प्रदेश १ को धान रोपाइँ प्रभावित बनेको छ । पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँ सम्पन्न भईसकेका धानमा समेत क्षति पुगेको छ । प्रदेश १ मा कुल ८ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन छ । जसमा ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । यसपटक धान रोपाईका लागि कुल खेतीयोग्य जमिनमध्ये २ लाख ३१ हजार ४८ हेक्टर अर्थात् ६७.७९ प्रतिशतमा रोपाई भएको छ । गतवर्ष यो अवधिमा ८०.१२ प्रतिशतमा रोपाई सम्पन्न भएको थियो । तर, यसपटक मसान्त लागेसँगै मनसुन निष्क्रिय बनेपछि गतवर्षको तुलनामा १२.३२ प्रतिशत कम रोपाई भएको प्रदेश १ सरकारको कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार असार मसान्तदेखि सुरु भएको मनसुन बे्रकका कारण रोपाइँ प्रभावित हुनुका साथै रोपाइँ सम्पन्न भईसकेको बाली समेत क्षति पुगेको छ । पानीको अभावमा रोपाइँ सम्पन्न भईसकेका धानबालीहरु सुक्दै गएको उनले बताए । उनले भने, ‘सम्भवतः बुधबारदेखि मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसकारण वर्षा भएसँगै अहिले भईरहेको सम्पूर्ण क्षति व्यहोरिन्छ ।’

प्रदेश १ मा यसपटक उच्च पहाडका ५२.६९, मध्य पहाडका ६२.८३ र तराईका ७१.४० प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । जसमा उच्च पहाडका ताप्लेजुङमा ६०, संखुवासभामा ४५ र सोलुखुम्बुमा ८०.६० प्रतिशतमा रोपाई सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार यसपटक मध्य पहाडका पाँचथरमा ४०, ईलाममा ५९, भोजपुरमा ७०, तेह्र्रथुममा ७५, धनकुटामा ३९, उदयपुरमा ६३.१३, ओखलढुङ्गामा ८६.८८ र खोटाङ्गमा ७० प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । यसबाहेक तराईका झापा, मोरङ र सुनसरीमा क्रमशः ७२, ७५ र ६५ प्रतिशत क्षेत्रफलमा रोपाई भएको जनाईएको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा मात्रै गत मङ्गलबार ३५.६, बुधबार ३४.६, बिहीबार ३६.२, शुक्रबार ४३.९, र शनिबार ३५.७ डिग्री सेल्सियर तापक्रम मापन गरिएको थियो । विराटनगरमा आजको तापमान भने ३२ डिग्री सेल्सियस मापन गरिएको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्