विराटनगर । प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्र्न बनेका विधेयक पारित गर्दै प्रदेश नं. १ प्रदेशसभाको आईतबार बसेको बैठक टुङ्गिएको छ ।
पूर्वनिर्धारित कार्यसुची अनुसार प्रदेशसभा बजेट अधिवेशनको आईतबार बसेको बैठक सकिएको हो । बैठकमा प्रदेश नामकरणको सवालमा दलहरु लचिलो बन्ने संकेत देखिएपछि नाम पनि प्रस्ताव हुने सम्भावना देखिएको थियो । बैठकको शुन्य समयमा बोल्दै प्रदेशसभा सदस्य सर्वध्वज साँवा लिम्बुले नामकरणको बिषयमा अनौठो पाराले सरकारको ध्यानाकर्षण समेत गराए ।तर, आईतबार बसेको बैठकमा प्रदेश नामकरणको सवालमा कुनै दलले प्रस्ताव राखेनन् ।
प्रदेश सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि उठेका प्रश्न तथा जिज्ञासाका सम्बन्धमा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जवाफ दिए । त्यसपछि प्रदेश सरकारकी पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवा लिम्बुले प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरिन् । प्रस्तुत विधेयक सर्वसम्मतिले पारित भएपछि आईतबारको बैठक स्थगित भएको हो ।
प्रदेशसभा बैठक सञ्चालन भईरहँदा सदनबाहिर भने प्रदेश नामकरणको सवालमा व्यापक प्रर्दशन गरिएको छ । प्रदेशको नाम किराँत राख्नुपर्ने मागसहित विभिन्न पहिचानवादी ९ वटा संघ-संगठनले प्रदेशसभा भवन अगाडि साकेला नृत्यसहित संयुक्त प्रर्दशन गरेका छन् । प्रदेशसभाको अर्को बैठक भने सोमबार दिनको १ बजेका लागि आह्वान गरिएको छ ।