विराटनगर । नेपालका २६ जिल्लालाई सर्पदंशबाट अति प्रभावित मानिएको छ । ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र कतिको ज्यान जाने गरेको बताइन्छ।
स्वास्थ्य विभाग मातहतको जुनोटिक तथा सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. हेमन्त चन्द्र ओझाका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइन्छन् र तीमध्ये २० प्रजाति विषालु मानिन्छ। गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् ।
अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पुर्याउँछ । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछ । अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन् ।
के गर्ने ?
– तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ । टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ ।
– सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्दत गर्छ ।
– सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला । यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ । सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला ।
– टोकेको समय पनि ख्याल गर्नुहोला । यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ ।
– कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला ।
– आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला ।
– सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला ।
के नगर्ने ?
– सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला । सर्पले फेरि टोक्न सक्छ ।
– टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ ।
– टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला ।
– टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला । बरु यसले विष चाँडो फैलन सहयोग गर्छ ।
– टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला ।
– एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला । यस्ता पेनकिलरले रगत पातलो बनाउँछ ।
– टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ । एजेन्सी
फोटो:फाईल