विराटनगर । मोरङ प्रशासनले लावा लस्कर, बाजागाजा र असंख्य झाँकीसहित डोरी तानेर भीडबीच श्रीराधाकृष्ण रथयात्रा निकाल्न नदिने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा गरिएको छलफलमा बाजा गाजा र लाखौंको भीडसहित रथयात्राको अनुमति प्रदान गर्न प्रशासन तयार भएन। विराटनगरसहितका स्थानमा कोरोना संक्रमितको संख्यामा व्यापक बढोत्तरी हुँदै गएको र रथयात्रामा ओर्लिने लाखौंको भीडका कारण संक्रमण झनै फैलन गई भयावह अवस्था आउन सक्ने तर्क गर्दै प्रशासन रथयात्राको विशाल आयोजना हुन नदिने कुरामा अडिग रह्यो ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङ एसपी शान्तिराज कोइराला, सशस्त्र एसपी राजकुमार लामिछाने र श्रीराधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मी, उपाध्यक्ष नन्दकिशोर राठी, सचिव कपिलकुमार भण्डारी, सदस्य कृष्ण कार्की, व्यवस्थापन समिति सदस्य दामोदर घिमिरे र पुनम गुप्तालगायत सरिक थिए । पहिलेको जस्तो कोरोनाको अवस्था हाल जटिल नरहेको भन्दै कार्यसमिति भव्य तरिकाले लाखौंको सहभागितामा विशाल रथयात्राको आयोजना गर्ने योजनाका साथ प्रशासन कार्यालय पुगेको थियो ।
समितिले २० दिनमा तयारी पुरा गर्ने गरी पूजाआजादेखि झाँकी व्यवस्थापन अनि रथसज्जा लगायतका दर्जनौं उपसमिति निर्माणको तयारी थालेको थियो ।
विराटनगरको ऐतिहासिकतालाई अक्षुर्ण राख्दै देशविदेशमा सांस्कृतिक सदभावको विगुल फुक्न कार्यसमितिले कम्मर कसेको थियो । तर छलफलमा प्रशासन साधारण बाहेक रथयात्राको नाममा तामझाम गर्न दिन उत्साहित बन्न सकेन ।
विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट ऐतिहासिक रथयात्रा निकालिने परम्परा छ । एशियाकै दोश्रो ठूलो रथयात्राको मिति यसपटक भदौ ४ गते शनिबार जुरेको छ । विराटनगर, मोफसल र सीमान्त भारतीय क्षेत्रबाट समेत गरी ५ लाखभन्दा बढी भक्तजन सहभागी हुने रथयात्रामा पुनः कालो बाडल मडारिन थालेको हो। पचासौं रङ्गीचङ्गी झाँकी, भजन मण्डली, लाखेदेखि सांस्कृतिक नाचसहितको निकालिने गरिएको रथयात्राले विगत २ वर्षदेखि कोरोनाका कारण आफ्नो आकार लिन सकेको छैन ।
कोरोना भयावह बन्दै गएपछि २०७६ साल चैत ११ गतेदेखि सरकारले मुलुकमा लकडाउन घोषणा गरेको थियो। लकडाउनको घोषणासँगै लाखौंको भीड सहभागीता साथ हुने रथयात्रा चपेटामा पर्यो । ०७७ सालको रथयात्रालाई स्थगित गरिएको थियो । ०७८ सालमा परम्परा धान्न मात्रै पूर्व सूचना बेगर श्रीराधाकृष्णको मूर्ति राखिएको खटलाई मिनीट्रकमा हालेर कतै नरोकी बजार परिक्रम गराइएको थियो । मन्दिरका अध्यक्ष रेग्मीले ५० औं झाँकी र लावालस्करसहितको विशाल रथयात्रा निकाल्ने योजनामा रहेको प्रशासनलाई सुनाएको बताए ।
उनले कोभिड बढिरहेको र सरकराले स्वास्थ्य मापदण्ड निकालेकोले यात्रा गर्ने तर भीड नगरीकन गर्ने भनेर प्रशासनले भनेको बताए।
भीडभाड गर्दा संसारभर फैलिदै गएको कोरोनाले असर गर्न सक्ने प्रशासनले कुरा उठाएको रेग्मीले बताए ।
रेग्मीले भने, 'हामी सरकारले दिने निर्देशनलाई उल्लंघन गर्ने पक्षमा छैनौं ।
प्रशासनले डोरी तानेर रथ संचालन गर्न दियो भने त्यसैगरी गर्ने नत्र अघिल्लो वर्ष झैं साधारण तरिकाले मिनिट्रकमा यात्रा गर्ने तयारी थाल्ने छौं ।'
प्रजिअ दाहालले विशाल आयोजना नगरी परम्परागत ढंगमा सामान्य विधि पुऱ्याएर रथयात्रा मनाउन मन्दिर कार्यसमितिका पदाधिकारीलाई निर्देशन दिइएको बताए ।
पानीटंकीस्थित राधाकृष्ण मन्दिरका पुजारी गोपाल पौड्यालले पशुपतिको भीड नरोक्ने अनि विराटनगरको आयोजना रोक्न खोज्ने भन्दै आक्रोश पोखे ।
यो समाचार आजको न्यू सृष्टी दैनिकमा प्रकाशित छ ।
फोटो:फाइल