विराटनगर । लागुऔषधको नशामा लठ्ठ भएर टाटा सुमो चोरेर भाग्दै गर्दा विराटनगरमा दुर्घटनामा परेको छ ।
विराटनगर–३ भट्टा चोकबाट को १ च ९४६७ नम्बरको टाटासुमो चोरेर भाग्ने क्रममा विराटनगर–२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिणमा मेरिल्याण्ड कलेजको बससँग ठोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार सुनसरीको बर्जु–२ का २५ वर्षीय अरुण चौधरी घटनामा संलग्न आरोपमा पक्राउ परेका छन् । उनले टाटासुमो चोरेर भाग्दै गर्दा बिहीबार दुर्घटना भएको थियो ।
उनी लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । नशामा रहेकै बेला उनले टाटासुमो चोरेर भागेका थिए । मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोकिएपछि उनी प्रहरी नियन्त्रणमा परेका हुन् । २५ वर्षीय चौधरीले आफ्नो नाम समेत यकिन बनाउने गरेका छैनन् । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भईरहेको छ ।