मधेसी समुदायमा बढ्दै दसैँको रौनक

<span class='c1'>मधेसी समुदायमा बढ्दै</span> <span class='c2'>दसैँको रौनक</span>

धनुषा । केही वर्षदेखि तराई–मधेसमा मधेसी समुदायले पनि टीका लगाएर दसैँ पर्व मनाउन थालेका छन् । धनुषासहित तराई–मधेसका विभिन्न जिल्लामा यसपटक मधेसी समुदायका अधिकांश परिवारले दसैँको टीका थाप्दै दसैँ मनाउन थालेका छन् ।

समाज परिवर्तनको गतिशीलतासँगै जसरी मधेसी समुदायले मात्रै मनाउँदै आएको छठपर्व पहाडी समुदायमा समेत मनाउन थालिएको छ, त्यसरी नै तराई–मधेसमा मधेसी समुदायले समेत दसैँ पर्व मनाउन थालेका हुन् । मधेसको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा साटासाटबाट भाइचारा वृद्धि हुने प्राज्ञ तथा संस्कृतविद रमेश रञ्जन झा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “यस पहिचानलाई फराकिलो गर्दै टीका ग्रहण तथा मान्यजनबाट आर्शिवाद लिने परम्परा मधेसमा बढ्दै गएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यो नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड भएको छ ।” नौराथाको अष्टमी र नवमीको दुवै भूगोलमा आ–आफ्नै विशेषता छ । पहाडमा मनाउने दसैँ उत्सव र चाडपर्वको हिसाबले पहाडी समुदायले मनाउने गर्दछन् भने मधेसमा भिन्नखालले दसैँ मनाउने गरिन्छ ।

तराई–मधेसमा निराहार व्रत बसेर तपस्याको रुपमा मनाउने गरिन्छ । धनुषाको महेन्द्रनगरका पुरोहित इन्द्रकान्त झाका अनुसार मधेसी समुदायले नवरात्रिको नव दिन फलाहार गरेर कपाल नकाट्ने, ऐनामा अनुहार नहेर्ने, नङ नकाट्ने, निराहार बसेर दुर्गा माताको पूजा गर्ने गर्दछन् । मधेसमा मन्दिरमा ढोग्ने र जईलाई धारण गर्ने गरिन्थ्यो तर अहिले दुबै समुदायले एक अर्काको घरमा पुगेर दसैँ टीका थाप्ने क्रम बढेको छ ।

वरिष्ठ पत्रकार तथा संस्कृतविद रामभरोस कापडीले दसैँ माता भवानीकै पूजा भएकाले तराई–मधेसमा अलग्गै यसको पहिचान रहेको बताउनुहुन्छ । कापडीले टीकामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा अराधनाले यस पर्व मनाउने गरेकाले आजको दिन विशेष रहेको बताउनुभयो । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गा सप्तशती चण्डी पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजयी हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ ।

शान्ति र सद्भावको सन्देश बोकेर आउने दसैँ पर्वले सम्पूर्ण हिन्दू नेपालीलाई साँच्चिकै शान्तिको अनुभूति दिलाउने गर्दछ । कोरोना महामारीको दुई वर्षपछि यसवर्ष आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्य आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराका साथ आर्शिवाद लिन पाएकामा असाध्यै खुसी देखिन्छन् ।

तराई–मधेसमा मेला उत्सव

तराई–मधेसको सहर, बजार एवं गाउँमा पोहोर र यसपालिको दसैँ निकै फरक देखिएको छ । विगतका दुई वर्ष कोरोनाका कारण बन्दाबन्दीले गर्दा उकुसमुकुसकाबीच मधेसवासीले विजयादशमी मनाएका थिए । त्रासबीच थौर सार्वजनिक यातायात चलेकाले घरबाट निस्केपछि गन्तव्यसम्म पुग्ने÷नपुग्ने अन्योल र तनावका कारण स्थानीयवासीले त्यतिखेर खुलेर दशमी मनाउन सकेका थिएनन् । मठ, मन्दिर, दुर्गा पण्डाल, मेला र सडक सुनसान थिए । यस महान पर्वको आवागमन र बिदाईको राम्ररी अनुभूति हुनै पाइएको थिएन ।

यसपाली दसैँको सौन्दर्य उत्कर्षमा देखिएको छ । मधेसमा खानपानको भन्दा पनि दसैँमा पूजाको संस्कृति रहेको छ । देवी दुर्गासहित अन्य विभिन्न देवदेवीका प्रतिमा स्थापना गरी भव्यतापूर्वक मेला लगाउने चलन छ ।
मधेस प्रदेशका सबै जिल्लाको प्रमुख बजार तथा केही ग्रामीण क्षेत्रमा पनि भव्यतापूर्वक मेला आयोजना गरिएका छन् । महाअष्टमीमा पर्ने कालरात्रिमा पूजा गर्ने र बलि दिने चलन छ ।

नवमी तिथिका दिन सम्पूर्ण शक्तिपीठमा बलि दिने गरिन्छ । नवमीको दिन जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिर, महोत्तरी सोनामाई, सप्तरीको छिन्नमस्तालगायतका शक्तिपीठमा हजारौँको सङ्ख्यामा बोका र राँगा बलि दिइएको छ । मधेसमा दसैंँभरि बिहान र बेलुका घरदेखि मन्दिरसम्म पूजा गर्ने चलन रहेकाले हरेक घरमा भक्तिको वातावरण हुने गरेको पण्डित लालबाबु झा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मधेसको संस्कृतिमा दसैँको अवधिभर खेलिने झिँझिया र भगतईमा केही ह््रास भएको भए पनि पूजापाठमा हरेक वर्ष श्रद्धालुको सङ्ख्या बढ्दै गएको छ ।”

दसैँमा एक अर्कालाई शुभकामना आदानप्रदान गर्ने र भोजभतेर गर्ने चलन बढिरहेको नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णको भनाइ छ । उहाँले भन्नुभयो, “मूर्ति स्थापना गर्ने, प्रतिमा बनाएर देवीको पूजा गर्ने, मेला लगाउने तथा घरमासमेत पूजा गर्ने र व्रत बस्ने चलनका कारण मधेसको समाज एक किसिमले भक्तिमय बन्ने गरेको छ ।”

दसैँको महाअष्टमीदेखि विजया दशमीको दिनसम्म विभिन्न स्थानमा मेला लाग्ने हुनाले सुरक्षा चुनौती थपिन्छ । मेलामा पहिले जुवा खेलाउने चलन थियो तर सुरक्षा व्यवस्थामा जुवाले चुनौती थपिने गरेकाले अहिले यस्तो चलन हट्दै गएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्