विराटनगर । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङमा ३०६ मतदान स्थल र ८३९ मतदान केन्द्र रहेका छन् । जिल्लाभरका कुल सात लाख ३५ हजार पाँच सय २५ मतदाताले मतदान गर्ने भएका हुन् ।
मोरङमा छ वटा संघीय र १२ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार २३ गते मनोनयन दर्ता र सोही दिन सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन र २६ गते मनोनयन फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिने छ । सबै निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेको छ ।
निर्वाचन क्षेत्र नं. ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मोरङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले उक्त कार्यालयको उद्घाटन गरेका थिए ।
मोरङको निर्वाचन क्षेत्र नं १ का लागि उर्लाबारी, २ का लागि रतुवामाई, ३ का लागि बेलबारी ४ का लागि विराटनगर हृदययेश बाल उद्यान, ५ का लागि सुनसरी मोरङ सिँचाई आयोजनाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
निर्वाचन क्षेत्र नं १ का लागि गोपाल थापा, २ का लागि नगेन्द्रकेशरी पोखरेल, ३ का लागि रामहरि शर्मा, ४ का लागि मणिराम पोखरेल र ५ का लागि गणेश नायक निर्वाचन अधिकृत तोकिएको प्रदेश निर्वाचन अधिकारी लेवन कास्यप अधिकारीले जानकारी दिए ।