विराटनगर। नेपाल प्रहरी संगठन स्थापना भएको ७१औँ वर्ष पुगेको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित प्रदेशअन्तर्गतका विभिन्न जिल्ला प्रहरी कार्यालयमा विविध कार्यक्रम आयोजना गरी ७१औँ प्रहरी दिवस मनाइएको छ।
‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ शुक्रबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा आयोजित मूल समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।


कार्यक्रममा मुख्यमन्त्री कार्कीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए। वीर अमर प्रहरीको सम्मानमा शोक सलामी र मौनधारण गरिएको थियो। कार्यक्रममा उपस्थित अमर प्रहरी परिवार, अतिथि तथा पूर्व र बहालवाला प्रहरी कर्मचारीले स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष सरिता खनाललगायत संघका पदाधिकारीले अमर प्रहरी परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ खटिएका बेला UNAMID मिसनमा कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका प्रहरी कार्यालय सहयोगी उमेशकुमार मेहत्तरलाई संयुक्त राष्ट्रसंघले प्रदान गरेको ‘ड्याग ह्यामरसोल्ड पदक’ मुख्यमन्त्री कार्कीले उनका परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए।


कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश वाचन गरेका थिए। उनले उपस्थित अतिथिलगायतलाई स्वागतसमेत गरेका थिए।
प्रहरी दिवसका अवसरमा प्रहरी कार्यमा सहयोग पुर्याउने व्यक्ति तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता र अक्षयकोष तथा पुरस्कार कोषका संस्थापकलाई सम्मान गरिएको थियो। एसईई तथा उच्च शिक्षामा उत्कृष्ट अंक हासिल गर्ने बहालवाला, पूर्व तथा अमर प्रहरीका परिवारका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धानलगायत क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनले स्थापना कालदेखि नै नेपाल प्रहरीले विभिन्न आरोह–अवरोह पार गर्दै राष्ट्र र जनताको सुखदुःखमा अग्रपङ्क्तिमा रहेर इमानदारीपूर्वक सेवा प्रदान गर्दै आएको बताए।
प्रहरीको मनोबल उच्च बनाउन पुरस्कार तथा अक्षयकोष स्थापना गर्ने व्यक्ति र प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताप्रति आभार व्यक्त गर्दै उनले पुरस्कृत प्रहरी कर्मचारी तथा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरित गरे।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई तथा प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले प्रहरी दिवसको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपस्थित अतिथि तथा सहभागीलाई धन्यवाद दिएका थिए। सो अवसरमा मुख्यमन्त्री कार्कीलाई कृतज्ञताको प्रतीकस्वरूप सम्मानसमेत गरिएको थियो।