सुजता लिम्बू
ओहो ! भोलि त असोज १० गते, मन फुरुङ्ग पारेर हतारहतार काम सके ।
किनकी नेपाल आदवासी जनजाती पत्रकार महासंघको प्रादेशिक भेलाका लागि ताप्लेजुङको यात्रा तय भएको थियो । एउटा संस्थागत जिम्मेवारी थियो भने, अर्को त्यो ठाँउको दृष्यावलोकन गर्न मन आतुर थियो । ताप्लेजुङको प्राकृतिक सुन्दरतासँग तस्वीर, भिडियो र किहले काहिँ जमघट हुँदा त्यहीँका साथीभाईले परिचय गराइसकेका थिए । तर, भौतिक रुपमा भने परिचित थिईन । त्यहाँको प्रकृति र मौसमसँग केही समय विताउने इच्छा वर्षौदेखि साँचेर राखेकी थिए । जुन फोजिन ताप्लेजुङ शाखाले जुराइदियो । अवसरका लागि ,यो लेख मार्फत नै आयोजक टिमप्रति आभार व्यक्त गर्न चाहान्छु ।
४ बजे नै विराटनगरबाट हामी ‘मुभ’ हुने भन्ने सल्लाह भएको थियो । सोही अनुसार आफूलाई चाहिने सामानहरु भारी कसेर ओछ्यान पसें । तर, कहीँ हिँड्नु पर्ने छ भने मलाई राती निन्द्रा लाग्दैन । मैले जानुपर्ने ठाँउमा म भन्दा पहिले मेरा कल्पनाका सागर उर्लिएर पुग्छ । त्यहीं काल्पनाको सागरमा मेरा निन्द्रा डुबुल्कि मार्दा मार्दै म सँगै मेरो निन्द्रा पनि अनिन्दो हुन्छ । निदाउन परो भनेर कोल्टे फेर्नै लाग्दा मोबाइलमा अलरामले मेरो आधाअधुरो निन्द्रलाई तिरवितर बनाइदियो । अलरामको घण्टीसँगै मेरो दैनिकी सकेर यात्राका लागि तयार भए । सल्लाह अनुसार समयमा हामी हिँड्न सकेनाँै । सँगै जाने फोजिन प्रदेश कोषाध्यक्ष प्रेम देवान र जिल्ला सचिव अनिल श्रेष्ठ तोकिएको समय भन्दा ढिला आएकाले हाम्रो यात्राको समय थोरै ढिलो भयो ।
यद्यपी यात्रा सम्झन लायक नै भयो । यात्रामा हामी मोरङबाट फोनिज अध्यक्षसहित ७ जना थियाँै । कहीँ ईलामको नागबेली घुम्तिहरुलाई छिचोल्दै त कहीँ साना ठुला खोलाखोल्सि तर्दै हाम्रो यात्राले आफ्नै रप्mतारमा गन्तव्य पछ्याइरहेको थियो । सबैको एउटै चाहाना ताप्लेजुङ पुग्ने कार्यक्रम सकेर मुकुम्लुङ (पाथीभरा) दर्शनका लागि जाने । तर, यात्रा धेरै कष्टकर छ भन्ने सुनेकी थिएँ । यात्रा अवधीमा मन्दिरसम्म कसरी पुग्ने भन्ने विषयमा छलफल हुन्थ्यो । त, कहिले मुकुम्लुङ कसरी पाथरीभरा नाम रहन गयो भन्ने विषयमा छलफल हुन्थ्यो । यस्तै गफगाफ र नयाँ ठाँउ पुग्ने आतुर वीचको घम्साघम्सिमा हामी करिब साँझ ८ बजेतिर ताप्लेजुङ पुग्यौँ । त्यहाँ पुगे पछिको जिल्लावासीको अथिति सम्मान, परिचयसँगै खानपिन पछि सुत्ने तरखरमा लागियो । लामो यात्राले थाकेको ज्यान, अनिन्दो आँखा विराटनगरको गर्मीले होला त्यहाँको चिसो मौसमको मिश्रित वातावरणले आनन्दको निन्द्रा लाग्यो ।
बिहान भएको पत्तो नै पाइएन । एकैचोटी मोबाइलको अलरामले निन्द्रा भंग गर्दा झस्किएर ब्यूझिएँ । हतारहतार दैनिकी सकेर होटेलको कोठा बाहिर निस्किए । साँझ नै स्वागतको हात हल्लाइरहको भान हुने फुङलिङ बजारमा सुर्योदयसँगै मन्द गतिमा आउने हावाका झोँकाहरुले थप मन प्रफुलित बनायो । बेलाबेला पारी डाँडाँबाट हुरिएर आउने कुइरोको घुम्टोले बजार वरपर ढाक्दै गर्दा लाजले अनुहार लुकाए झैँ कुइरोको घुम्टो भित्रै सिंगो ताप्लेजुङ नै लुके जस्तो अनुभूती हुन्थ्यो । केही बेरमै मुकुम्लुङ (पाथीभरा) डाँडालाइ छल्दै आउने रापिलो घामले सिंगारिएको बेहुली झैँ देखिने फुङलिङ बजारलाई उज्यालो बनाइदिन्थ्यो । न्यानो बनाइदिन्थ्यो ।
झापा खेती केटी हेर्नु
इलाम र पाँचथरकी
ताप्लेजुङको तोङ्बा सुकुटी.........
गीतमा सुनेको झैँ ँ ताप्लेजुङको प्राकृतिक सुन्दरताको वयानसँगै त्यहाँ पाइने तोङ्बा सुकुटी अक्सर जिल्ला टेकेर फर्किनेहरूले बयान गरेकै हुन्छन् । त्यो ठाउँको तोङ्बा र सुकुटीको स्वाद धेरैको जिब्रोमा झुण्डिएको छ । तर, त्यो ठाँउमा पाइने हातले बनाइएको कफिको स्वादमा अर्को छुट्टै विशेषता पाए । म चिनिबाट टाढा भाग्ने त्यहाँको कफिको स्वादले कफि पिउन बाध्य बनायो । कफिको स्वाद र त्यहि स्वादसँग मिल्दो त्यहाँको वातावरणको समायोजन शब्दले बयान गरेर मात्रै पुग्दैन । केही बेरको कफि गफ पछि हामी कार्यक्रमस्थलमा पुग्यौ । दिनभर कार्यक्रमको व्यस्थता, छलफलले थकान भएको ज्यान बेलुका सुकेटारको आलु र तोङबाको स्वादसँगै खानपिन गरेर थकान मेटाएका थियौँ ।
भोलिपल्ट अर्थात असोज १२ गते पाथीभरा दर्शनका लागि यात्रा तय भएको थियो । बिहान तीनै बजे हिँड्ने भन्ने सल्लाह अनुसार तयार भइयो । भोली कसरी पुग्ने धेरै टाढा, उकालो, त्यसमा पनि चिसोले लेक लाग्छ भन्ने विषयले मनमा धेरै कुराहरु तछाँडमछाँड गर्दै खेलिरहेको थियो । मलाई चाँडै चिसो लाग्ने भएकाले मनमा त्रास थियो कतै बिरामी पो पर्छु कि भन्ने । यस्तै मनका द्धन्दलाई शान्त पार्दै निदाउने प्रयत्नसँगै थाहै नपाइ निन्द्रा देवीको काखमा पुगेछु । भोलीपल्ट बिहान अलरामको घण्टीसँगै नुहाइधुवाई गरेर तीन बजे मन्दिर दर्शनका लागि गाडी चढ्न पुग्यौं । प्राविधिक समस्याका कारण तोकिएको समय भन्दा केही बेर ढिला हामी हिँडयौ । ५ बजे काफ्लेपाटी पुग्ने भनेको करिब ७ बजे त्यहाँ पुगका थियौँ । कतिपय साथीहरु हामी भन्दा अगाडी नै हिँडिसक्नुभएको थियो ।
हिलोले पहाड जमाएको सुकेटार—काफ्लेपाटी सडक खण्ड यात्रा गर्न त्यति सहज थिएन । कच्ची बाटो भएकाले .बर्खामा हिलोको थुप्रो, हिँउदमा धुलो हुनु स्वभाविक नै थियो । करिब ढेड घण्टाको जोखिम मोलेर मोटर (गाडी) बाट काफ्लेपाटी पुग्न तम्सिएका हामी बीचैमा गाडी विग्रिएर थोरै पैदल हिँड्न प¥यो । त्यो यात्राअवधिभर पनि मनमा धेरै प्रश्नहरु उब्जिए, दशकौँ देखि पवित्र तिर्थस्थल मुकुम्लुङ (पाथीभरा)को दर्शन गर्न देशविदेशबाट भक्तजनहरु आउनेजाने गर्छन् ।
तर, बाटो कालोपत्रे हुन नसक्नुको कारण के होला ? सवारी चालकले थोरै लार्वाही गरे, धेरै जनाको ज्यान जोखिम हुने अवस्था पनि छ । तर, स्थानीय निकायले ध्यान किन नदिएको होला ? यस्तैयस्तै प्रश्नहरु मनमा खेलाउदै काफ्ले पार्टी टेकियो । म पुजापाठ प्रति खासै भरोसा नराख्ने मान्छे पाथीभरा दर्शनका लागि खै किन आतुर थिए ? सायद उनको मर्जि थियो होला । तर, आफूलाई भोकै राखेर पिडा दिएर धर्म हुँदैन भन्ने चाहीँ म आफैले जानेकी थिए । त्यसैले केही खाँउ भन्ने लाग्यो । त्यसमा फोनिज संघीय अध्यक्ष गजुरधन राई सर, उपाध्यक्ष अमरध्वज लामा सरहरुको आग्रहमा पनि खाजा (थुक्पा) खाँए । काफ्ले पार्टीको थुक्पा र तातो चियाले उकालो चढ्ने आँट थपियो । र, पुजा सामाग्री, पानी बोकेर उकालो चढ्न् थाल्यौं ।
नाकै ठोकिने उकालोले पनि हामीलाई स्वागत गर्न आतुर भए झैँ अनुभुती भएको थियो । हतारमा कतिखेर खुड्किला छिचोलौँ भन्दै गर्दा अर्को उकालोले स्वागत गर्न ठिक्क हुन्थ्यो । बाटोमा भेटिने आउनेजानेका ताँतीमा कोहीँ हाँस्दै फर्किरहेका हुन्थे, कोही खुट्टा खुम्च्याउदै त कोही अरुको पिठ्यँमा । त्यो दृष्यले मेरो मन पनि थरिथरिको बनाइदिन्थ्यो । हाँस्नेको अनुहार देख्दा उर्जा जाग्थ्यो, हिँड्न नसक्नेको अवस्था देख्दा ‘होपलेस’ हुन्थे, पिठ्युँमा मान्छे देख्दा हे भगवान यस्तो नहोस भन्दै प्रार्थना गर्थे । यही मन भित्रको अन्तरद्धन्द्ध चलाउदै कहीँ बस्दै, कहीँ मकै र भटमास टोक्दै उकालो चढ्दा हिँड्न निक्कै सकस परेको थियो ।
यस्तै कठिन यात्राको बावजुद पनि बल्लतल्ल माथिल्लो फेदि पुगियो । थोरै तर, बाक्लो बस्ती । मुकुम्लुङ दर्शन गर्न आउने जानेहरुको भिड उत्तिकै । व्यापारको चहलपहल उत्तिकै देखिन्थ्यो । तर, त्यहाँ आइपुग्ने समान (खाद्यन्न, प्रसाद, ग्यास लगायत) सबै मान्छेले बोकेको भरले चल्ने रहेछ । केही समयको आरामसँगै चिया पिएर हाम्रो यात्रा पुनः अगाडी बढ्न थाल्यो । यात्रा जति अगाडी बढ्दै गयो उत्तिनै मान्छेका ताँति भेटिन्थ्यो । वृद्ध देखि बालबालिकासम्म मुकुम्लुङ दर्शन गरेर फर्किएको देख्दा यात्राको पहिलो पाइला चाल्न सकस तर, दृढ संकल्प गरे गन्तव्य भेट्न सकिनेरहेछ भन्ने भान हुन्थ्यो । आउने जानेको ताँती सँगै जति उकालो चढ्यो उतिनै प्रकृतिको सुन्दरताले घेरिएको त्यो ठाडो उकालो भेटौँभेटौँ झैँ लाग्थ्यो तर, सोँचे जस्तो सजिलै देखिएको उकालो चढ्न सहज थिएन ।
डाँडाँबाट खेल्दैखेल्दै निलो आकाशमा वरपर कुद्ने बादल निधारैमा आएर ठोकिला जस्तो लाग्ने त्यसले केही थकाइ मेटिएको अनुभुती हुन्थ्यो ।
ओराली लागेको हरिण कै चाल भयो
बाँचुन्जेलसम्म पनि मरेकै हाल भायो
छल ग¥यो मायाले, छल ग¥यो मायाले .....
थाकेको स्वरबाट घरिघरि बाटोमा भेटिएका भरिया दाईले गाउने रामकृष्ण ढकालको गीत र स्वर भित्र थकान, पीडा र हर्ष मिश्रित भेटिन्थ्यो । गल्नु भएन भन्ने मेरो प्रश्नमा ती भरिया दाई निधार खुम्च्याउदै भन्थे,‘हाम्रो कामै यही हो है हजुर, गलेर हुँदैन बानी भईसक्यो ।’
किलोको हिसाबले उनीहरु मान्छे बोकेर मन्दिरसम्म पु¥याउने, फर्काउने रहेछन् । सबै दृश्य कुनै कलाकारले क्यनभासमा उतारे झैँ लाग्ने तर, यथार्थमा थकान मेट्दै वरपर उभिएर हेर्ने हो भने सुन्दर चिज अक्सर अप्ठ्यारो ठाँउमा नै भेटिनेरहेछ । हाम्रो यात्रा त्यति सहजै गन्तव्यमा पुग्ने छाँटकाँट थिएन ।
झन हिँडयो हिँडाइको गति कम हुने अवस्थामा घरिघरि अग्रज पत्रकार आदणिय .कौशल दाई र उहाँकी धर्मपत्नि अर्थात भाउजुको हिँडाइले थप उर्जा मिल्थ्यो । कौशल दाईलाई हेर्दै म गनत्व्य पछ्याइरहे । त्यसमा घरिघरि उकालोमा भेट्दा गजुरधन सरले किस्सा सुनाउदै हसाउनु हुँदा यात्रा गर्दाको मज्जा बेग्दै हुन्थ्यो । हाम्रो मोरङ जिल्ल अध्यक्ष दिनेश लिम्बू दाईले सुजतालाई बोकाएर लग्नुपर्छ भन्दै जिस्काउदै गर्दा आफै हिँड्न नसकेर मिनेट, मिनेट बस्दा त्यहीँ एउटा जोक गर्ने बहाना बनिहाल्थ्यो । हाँसी मजाक पसिना र खुट्टा दुखाईका वीच पनि यात्रा अगाडी बढ्दै गर्दा जति उकालो चढ्यो उतिनै चिसोले च्याप्दै गयो हिँड्न थोरै सकस भयो । सँगै हिँडेका दाईहरु, साथीहरुले छोडेर उछिने अगाडी पुगे ।
यही क्रममा विजय वोध लावती दाई र अमरध्वज लामा सरको यात्रा अवधीमा दर्बिलो साथ थियो । करिब ६ घण्टाको हिँडाईमा मन्दिरको घण्टि बजेको सुन्न पाउदा एउटा युद्ध जितेको जस्तो महसुस भयो । बाटोमा भेटिएका दुईचार जना दिदीहरुले भन्दै गरेको सुनेकी थिए । बल्लैले पुगियो, पुग्न सक्नु ठूलो कुरा हो ।
मलाई त्यहाँसम्म पुग्दा ति दिदीहरुको भनाई याद अयो । डाँडामा (मन्दिर भएको स्थान) पुग्दा स्वर्गमा पुगेको अनुभुती भयो । हामी पुग्नु अघिल्लो दिनसम्म पानी परेकाले भक्तजनहरुलाई धेरै सकस भएको थियो रे । तर, त्यो दिनभरी खुलेको आकाशमा पंख फिजाएर आफ्नै साम्राज्य जमाएर उडेको बादल । त्यसको उत्तर पट्टी विश्वको तेश्रो अग्लो कञ्चनजंघा हिमाल । त्यो सँगै साउती मार्दै गफिएर बसे झैँ लाग्ने फक्ताङलुङ (लिम्बू भाषामा कुम्भकण) हिमाल ।
वारिपारी देखिने हरियाली डाँडाँ यिनै प्रकृतिको घेराबन्दीमा संसारभर शक्ति फैलाएर बसेको मुकुम्लुङ (पाथीभरा) मन्दिर स्वर्गको एक टुक्रा रहेछ ।