विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिजधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले आफ्ना ईच्छाएका उमेदवारलाई चार मतपत्रमा छाप लगाएर चारवटा मतपेटीकामा खसाल्नु पर्नेछ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार पहिलो मतपत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मतदान गरेर मतपेटिकामा खसाल्नु पर्नेछ । दोस्रो प्रतिनिधिसभा समानुपातिकतर्फका उमेदवारलाई मतदान गरि मतपेटिकामा खसाल्नु पर्नेछ । त्यसपछि प्रदेशसभा सदस्यतर्फको प्रत्यक्षमा मतदान गरेर मतपेटिकामा खसालेपछि प्रदेशसभातर्फकै समानुपातिक उमेदवारलाई मत हाल्नुपर्ने प्रक्रिया छ ।
मोरङका १७ स्थानीय तहमध्ये बुधबार विराटनगर महानगरपालिकामा नमूना मतदान गरिएको हो । बिहीबारदेखि दुईवटा टोलिले बाँकी १६ स्थानीय तहमा नमूना मतदानको कार्यक्रम सञ्चालन गर्ने अधिकारीले जानकारी दिनुभयो । यससँगै बिहीबारदेखि नै मतदाता शिक्षा समेत मोरङमा सुरु गरिने भएको छ । स्थानीय तहमार्फत सञ्चालन हुने मतदाता शिक्षामा प्रत्यक्ष घरदैलो र सामुदायिक कार्यक्रम गरिने छ ।
विराटनगर–६ निवासी मो.सैफ अली खान नमूना मतदानमा सहभागि भएपछि बढी समय लाग्ने तर सहजै हुने बताउनुभयो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोजना गरिएको नमूना मतदानमा उहाँले मतदान गरेपछि प्रत्येक मतको महत्व देशका लागि हुने प्रक्रिया दिनुभयो ।
विराटनगरमा गरिएको नमूना मतदानमा प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले समेत मतदान गर्नु भएको थियो ।
मतपेटिका ले–आउट तालिम
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान केन्द्रको अवस्था हेरेर निर्वाचन अधिकृत र त्यहाँ खटिने सुरक्षा निकायका प्रमुखलाई मतपेटिका ले–आउट तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । मतदानमा सहभागी मतदातालाई सहज बनाउनका लागि मतदानस्थलको अवस्था हेरेर व्यवस्थापनमा विशेष ध्यान दिईने भएको हो । त्यसका लागि मतदान अधिकृत नियुक्ति भएपछि सम्बन्धित केन्द्रमा खटिने सुरक्षा प्रमुख र अधिकृतलाई मतपेटिका हार्बोरिङ्ग तालिम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । निर्वाचनस्थलमा मतदातालाई सहज बनाउँदा मतदान गर्ने समय कम लाग्ने भएकोले मोरङमा त्यो विधि अपनाईने प्रमुख जिल्ला अधिकारी दाहालको भनाई थियो । प्रत्यक्षतर्फको मतपत्र उमेदवारका आधारमा रहेकोले सानो र समानुपातिकतर्फको मतपत्र ठूलो रहेकोले त्यहि अनुसार मतपेटिकाको ले–आउट मिलाईने भएको छ ।
मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले चार मतपत्रमा चार छाप हानेर चार बाकसमा लगाउने भएका कारण मतदानस्थललाई सहज र शान्त बनाउन आवश्यक सबै विधि अपनाईने बताउनुभयो । उहाँले हिउँदको महिना बिहान ७ बजेदेखि नै मतदान गर्ने समय तोकिएकोले मतदातालाई बिहानैदेखि मतदानमा सहभागी भईदिन अनुरोध समेत गर्नुभयो ।
चुनावीसभा बारे जानकारी गराउन दलहरुलाई पत्राचार
मोरङमा जिल्ला सुरक्षा संयन्त्रको बैठकले दलहरुले निर्वाचित केन्द्रीत आयोजना गर्ने सभा जुलुशको स्थानीय प्रशासनलाई जानकारी गराउन पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार बुधबार बसेको बैठकले कुनैपनि चुनावी कार्यक्रम आयोजना गर्दा २४ घण्टा अगाडी नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्ने निर्णय गर्दै सबै दलहरुलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।
सुरक्षाको तीन घेरा
नमूना मतदान भएको विराटनगरको व्यस्त बजार पुरानो गुद्रीस्थित ए–प्लटमा निर्वाचनको समयमा जस्तै सुरक्षाको तीन घेरा कायम गरिएको थियो । पहिलो घेरा र मतपेटिकासँगै नेपाल प्रहरी र म्यादी, दोस्रोमा सशस्त्र र त्यस भन्दा बाहिरी घेरामा नेपाली सेनाको पहरा देखिन्थ्यो ।