एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन : कांग्रेस प्रवक्ता महत

<span class='c1'>एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव</span> <span class='c2'>छैन : कांग्रेस प्रवक्ता महत</span>

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा (एमाले) बाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताउनुभएको छ ।

उहाँले मुलुकमा समन्वयकारी नेतृत्वको आवश्यकता रहेको बताउँदै त्यो क्षमता कांग्रेस सभापति शेरबहादुर देउवामा रहेको दाबी गर्नुभयो । “मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ”, उहाँले भन्नुभयो, “काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन, देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ ।”

नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समितिअन्तर्गत गठित खेलकुद क्षेत्र समन्वय समितिले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा व्यवस्थाको रक्षा गर्ने कि व्यवस्थालाई अझै कमजोर बनाउने भन्नेबीचको अहिलेको निर्वाचन रहेको उहाँको भनाइ थियो । संविधान, प्राप्त उपलब्धि रक्षा गर्न तथा देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले संविधान र व्यवस्थाको रक्षा गर्दै युवालाई शिक्षा र रोजगारीको ग्यारेन्टी कांग्रेसले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै अर्का केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले शान्ति र भयरहित समाज निर्माणका लागि पनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

रुपन्देहीको क्षेत्र नं २ मा कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा तथा प्रदेशसभा १ मा नेपाली कांग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी र प्रदेशसभा २ मा माओवादी केन्द्रका नेता वामदेव क्षेत्री उम्मेदवार हुनुहुन्छ ।

उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार थापाले यस अगाडिको संसद्मा जनमुक्ति संसद् बाहिर भए पनि एमालेको सर्वसत्तावाद शैलीको सधैँ विरोध गरिरहेको भनाइ राख्नुभयो । उहाँले सत्ता गठबन्धनसँग अहिले मात्रै नभएर भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै प्रदेशसभा १ का उम्मेद्वार केसीले अहिलेसम्म उपेक्षित खेलकुद क्षेत्रलाई सशक्तरूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रमा रङ्गशाला बनाउने प्रतिबद्धता व्यक्त गर्दै अन्य खेलकुदका पूर्वाधार निर्माण तथा खेलाडीलाई व्यावसायिक विकास गर्न पहल गर्ने बताउनुभयो ।

“यहाँका जनताको आवश्यकता नै मेरो आवश्यकता हो”, उम्मेदवार केसीले भन्नुभयो, “यहाँका जनताको मनोभावनाअनुसार काम गर्ने छु ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्