काठमाडौं । चितवन क्षेत्र-२ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजयी नभइ जाँच दिन जानका लागि सक्षम हुनु मात्र भएकाे बताएका छन् ।
चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका हुन् । ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले भनेका छन् ।
उनले अहिले कुनै विजय र्याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्याली गरिने जानकारी दिएका छन् । धन्यवाद र्यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले मतदाताहरुलाई आग्रह गरेका छन् । उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन् ।
‘भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला,’ लामिछानेले लेखेका छन्, ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्रायः विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’
उनले छिटोभन्दा छिटो आफू काममा लाग्न चाहेको समेत उल्लेख गरेका छन् ।
उनले चितवन २ बाट ४९ हजार २ सय ६१ मत ल्याउँदै ३४ हजार १ सय ६२ मतान्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे । यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त ल्याए ।