विराटनगर । विराटनगरको युवा उद्यमी थाईल्यान्डमा कृषी अध्ययन गरेर फर्किएका छन्। कृषि क्षेत्रमा संलग्न युवा उद्यमी तथा कृष्ण दाना उद्योगका संचालक रोमन कट्टेलले थाईल्यान्डमा भएको पराल व्यवस्थापन सम्बन्धी ७ दिने भ्रमण अध्ययनमा सहभागिता जनाएर विराटनगर फर्किएका हुन् ।
पराल खेतमै जलाउने समस्या पछिल्लो समय दक्षिण एसियामा नै विकराल रुप लिदैछ । यसले निकट भविष्यमै नेपालमा पनि समस्या उत्पन्न गर्ने आँकलन गरिरहेको समयमा विराटनगरका युवा व्यवसायीले थाईल्यान्डमा गई यसबाट जोगिने उपायहरु बारे अध्ययन गरेका छन् ।
भारतको पंजाव क्षेत्रमा बाली निकालिसकेपछि खेतमै पराल जलाउँदा निस्किएको धुँवाले हरेक वर्ष त्यहाँको राजधानी दिल्लीमा वायु प्रदुषणको मात्रा अत्याधिक धेरै बनाउने गर्दछ । यसरी बालि जलाउँदा वायु प्रदुषण मात्र नभई जमिनको उर्वरा शक्तिलाई पनि असर पुर्याउने उद्यमी कट्टेल बताउछन् । “यहि समस्यालाई थाईल्यान्डका किसानहरुले कसरी समाधान गरिरहेका छन् भन्ने भ्रमणबाट हामीले सिक्यौं । “ उनले भने “त्यहाँ अहिले ३ बालीसम्म धान उत्पादन गरिदो रहेछ । जबकि हामी नेपालमा २ बालीसम्म मात्र लगाउने गरेकाछौं । “
“खेतबाट निस्कने पराललाई खेतमै गलाएर जमिनको उर्वरा शक्ति बढाउन सकिने वा त्यहाँबाट निकालेर गाईवस्तु तथा माछाहरुको आहारा बनाउन सकिने जस्ता बहुउपयोग गर्न सकिने रहेछ ।” उद्यमी कट्टेलले जानकारी दिदै भने, “यहि परीक्षण हामीले कृष्ण दाना उद्योगको झोराहाट स्थित आफ्नै खेतबालीमा समेत गरिरहेका छौं ।”
७ दिन संचालन भएको यस कार्यक्रमको आयोजना संयुक्त राज्यसंघको युएनस्कापले गरेको थियो । अध्ययनका क्रममा नेपालसहित ईन्डोनेसिया र कम्बोडिया जस्ता देशका विभिन्न सहभागीहरुलाई थाईल्यान्डका विभिन्न प्रदेशमा रहेका विभिन्न किसानहरुको खेत, उद्योग , प्रयोगशाला र बजारहरुको अध्ययन गराईएको थियो।
आधुनिक र सुरक्षित कृषि प्रणालीको मद्दतले देशको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा विराटनगरस्थित प्रणाम ग्रुपका मेनेजिङ्ग डाईरेक्टर रोमन कट्टेलका साथै नेपालबाट नेपाल सरकारको कृषि विभागका पुर्व सहायक महानिर्देशक मधुसुदन सिंह बस्नेत, त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ विभाग प्रमुख जावेद आलम, एग्रिकल्चरल ईन्जिनियर तथा सहायक क्याम्पस प्रमुख समिर शाक्य समेत सहभागी भएका थिए ।
कट्टेलले यस अघि नै कृषि क्षेत्रको आधुनिकिकरण सम्बन्धी तालिमहरु लिन भारत र चीन जस्ता देशको अध्ययन गरिसकेका छन् ।
उनको कृष्ण दाना उद्योगले गाईवस्तुको दाना, परालको डिटिएमआर तथा मिनिरल ब्लकहरुको उत्पादन गर्ने गर्दछ ।