पाकिस्तानको सेनाले जारी राखेको आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा शनिबार एक आतङ्ककारी समूहका कमाण्डरको ज्यान गएको बताइएको छ ।
पाकिस्तानको उत्तरी वाजिरिस्तानमा ती कमाण्डरमा मारिएका यहाँको सेनाले जानकारी दिएको छ । शनिबार राति पाकिस्तानी सेनाले गरेको विशेष कारबाहीमा उनी मारिएका यहाँको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।
पाकिस्तानी सेनाको मिडिया विभाग, आइएसपिआरले सो कुराको जानकारी गराएको हो । उत्तरी वाजिरिस्तानको सेवा जिल्लामा सेना र आतङ्ककारी समूहका सदस्यका बीचमा दुई पक्षीय भिडन्त भएको थियो ।
दुवै तर्फबाट गोली प्रहार भएको र सैनिकको गोली लागेर ती कमाण्डर सरकाई छद्म नामले चिनिने मोहम्मद नुर मारिएका हुन् । उनले सो क्षेत्रका सर्वसाधारण तथा प्रहरीको हत्या गर्ने, मानिसलाई अपहरण गर्ने र फिरौती माग्ने जस्ता काम गरेका थिए ।
उनी यहाँका सुरक्षा निकायको सर्वाधिक खोजीको सूचीमा रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ । पाकिस्तानी सेनाले यहाँका नागरिकको सर्वाधिक खोजीको सूचीमा रहेका मोहम्मद नुरको ज्यान गएको र त्यस कारबाहीका क्रममा अरु केही आतङ्ककारी तथा पाकिस्तानी सेनाका सदस्य घाइते भएका पुष्टि गरेको हो । रासस/सिन्ह्वा