विराटनगर । किराँत धर्मालम्बीहरुको मौलिक पर्व उद्यौली यसपटक विराटनगरमा किँरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले संयुक्त रुपमा मनाउने भएको छ ।
किराँत याक्थुङ चुम्लुङ विराटनगर महानगर कमिटी र किराँत याक्खा छुम्मा महानगरको संयुक्त रुपमा बसेको बैठकले मंसिर २२ गते उद्यौली पर्व अन्र्तगत लिम्बुले चासोक तङनाम र याक्खाले चासुवा मनाउने तयारी गरेको हो ।
विराटनगर १५ स्थित माङखिम मन्दिर परिसरमा रहेको चुम्लुङको नव निर्मित भवनमा चासोक तङनाम मनाउने निर्णय भएको किराँत याक्थुङ चुम्लुङ विराटनगरका अध्यक्ष कुमार सुब्बाले जानकारी दिनुभयो । किराँतीहरु प्रकृतिपुजक भएका कारण उक्त दिन न्वागि पुजा गर्ने चलन छ । बर्खामा रोपेको अन्नवाली हिउँदमा आफ्ना पितृहरुलाई चढाएर मात्रै भित्राउने चलन भएका कारण पराम्परागत यो पर्व मनाउदै आएका छन् ।
उद्यौलीको दिन याक्खाहरुको डोकेनी नाच प्रदर्शन गर्ने र लिम्बु समुदायले केलाङ नाच, हाक्पारे साम्लो (ख्याली) र धान नाच पनि प्रदर्शन गरीने किराँत याख्खा छुम्मा महानगर कमिटीका सचिव प्रेम देवानले जनाकारी दिए ।
यसैविच किराँत राई यायोक्खा विराटनगरले पनि उद्यौली पर्वको अवसरमा साकेला नृत्य प्रस्तुत गर्ने भएको छ । विराटनगर ११ स्थित साकेलाथानमा राई समुदायहरु भेला भई साकेलाथानमा पुजापाठ गरी साकेला सिली उद्यौली पर्व मनाउने तयारी गरेको छ ।