काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले पराजित गर्यो।
मोरक्कोका लागि खेलको ४२ औँ मिनेटमा युसेफ एन-नेसरीले गोल गरे । पोर्चुगलले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन । समूह चरणमा साविक उपविजेता क्रोएसियासँग बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियम र क्यानडालाई पराजित गरेको थियो ।
मोरक्कोले सेमिफाइनलमा आजै राति १२ः४५ बजे हुने फ्रान्स र इङ्गल्याण्डबीचको विजेतासँग खेल्नेछ ।