विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको लगभग सबै दलबाट विश्वासको मत पाएका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने पक्षमा फरक मत राखेका थिए । ८९ सिट रहेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । समाजवादीसँग १० र लोसपासँग ४ सिट रहेको छ ।
प्रचण्ड १० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्रीमा समर्थन नगर्ने दलहरुले समेत विश्वासको मत दिने भएपछि अब संसदमा एक–एक सिट रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै प्रचण्डलाई विश्वासको नदिने भएका छन् । नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सांसद छन् ।