काख रित्तिएको साँझदेखि
साथ बिर्सन नसकेको दिनसम्म
एउटा आस शिखर झैँ उभिएको
उहि हजुरको प्रेमसँग बाँचेको छ ।
सात टेक्दै थिए, जन्मको
साथ टुटेको भार थपियो
आँट बोकेको प्रेमले
साहस त थपिरहयो ।
जीवन त आफ्नै हो
प्रकृतिको गोरेटोमा चलिरहेछ जिन्दगी
मुस्कुराउन सिकाएको संस्कारले
समीक्षक बनाईदियो दैनिकी ।
सानो छानो भित्र
केस्रा बाँडेर खुशीका
हाँसिहाँसि हुर्किएका
क्षण बनेका छन् अतित।
अनेकन दुःख होलान्
सुख पनि त आउँदा हुन्
प्रेम भरिएको पाउलो
पतझडपछि नै पलाउँदा हुन् ।
आसा भरेको किरण, वरपर फैलन्थ्यो
एउटा खुशी साट्दा, हजार सुख जन्मन्थ्यो
उता आफन्त थिए, छरछिमेक पनि
जहाँ छोडिए पनि प्रेममै हुर्कियौ हामी ।
सर्दै जाँदा पाईला
टेकिदै जालान् वसन्त
फूल नै त हो जीवन
सुन्दर नै हुन्छ रङ्ग त ।
हिजो भन्दा आज झन्
बढ्दै जाला जिम्मेवार
सत्यको बाटो समाउन
बार्नु छैन रबिबार ।