सुजता लिम्बु
विराटनगर । सशस्त्र द्धन्द्ध चरम उत्सर्गमा पुगेको थियो । राज्यपक्ष र विद्रोहीपक्षको दोहोरी चलिरहेको थियो । कहाली लाग्दो घटनाका समाचारले त्रासको वातावरण थियो ।
देशको अवस्था भन्दा विष्णु कट्वालले भोगेको अभावको राप कम थिएन । त्यसैले उनी २०६१ सालमा नेपाल प्रहरीमा भर्ती भए । २०४२ सालमा सप्तरीको फत्तेपुरमा जन्मिएका उनी नेपाल पुलिस क्लवका राष्ट्रिय व्याडमिन्टन खेलाडी हुन् । सानै उमेरमा आमाको न्यानो काखबाट टाढिएका उनले बाल्यकाल सहज र सरल तरिकाले जीउन पाएनन् ।
समाजमा गरिब र धनीको ठूलो खाडललाई नजिकैबाट नियालेका छन् उनले । त्यही असमानताले जरा गाडेको समाजले बलियो बनाएर जीउन सिकाएको उनी बताउछन् ।
विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता–२०२३’ मा भेटिएका विष्णु गफिदै जाँदा उनी आफ्नो बाल्यकालको भोगाइसँगै प्रहरीमा प्रवेश गर्दा ताकाको स्थिति स्मरण गर्दछन् ।
‘बाँचे घर फर्किउला मरे देशका लागि’ भन्ने सोच राखेर मुसुक्क हाँस्दै सुनाउछन् । त्यसो त देश र जनताको सुरक्षा र आफूले भोगेको अभावको खोट मेटाउन नेपाल प्रहरीलाई जीवन समर्पित गरेको विष्णुका लागि अहिले खेल क्षेत्रमा सफलता प्राप्त गर्छु भन्ने कल्पना समेत थिएन । तर, ईच्छाशक्ति, लगनशिलता र कडा परिश्रमले मान्छेलाई एउटा गन्तव्यमा पु¥याउन सक्ने रहेछ भन्ने उनको बुझाइ छ ।
सानैदेखि खेलाडी हुन्छु भन्ने थियो
त्यसो त हरेक मान्छेले भविष्यको ‘मार्ग चित्र ’ कोरेका हुन्छन् । त्यही मार्ग चित्रमा कोरिएको धर्कोलाई पछ्याउदै गन्तव्यको खोजीमा अगाडी बढ्ने मध्ये विष्णु पनि एक हुन् । उनले पनि अन्य अरुले झैँ बाल्यकालदेखि एउटा सफल खेलाडी बन्ने सपना बुनेका थिए । त्यही बाल्यकालदेखि खेलाडी बन्ने सपनासहित अगाडी बढ्का उनी नेपाल प्रहरीमा भर्ति भएसँगै खेल जगतमा प्रवेश गरेका थिए ।
यसरी आरम्भ भयो खेल यात्रा
जागिरे जिवनको पहिलो ड्युटी पुर्वी पहाडको हिमाली जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी स्थित जिल्ला प्रहरी कार्यलयबाट सुरु भएको थियो । जुन समयमा उनी १९ वर्षका थिए । २०६३ सालको प्रहरी दिवसका दिन जिल्ला स्तरीय व्याड मिन्टन प्रतियोगितामा संखुवासभाबाट आरम्भ भएको उनको खेल यात्रा सुरुवातका दिन नै निक्कै महत्वपूर्ण बनेको थियो ।
‘त्यो बेला पहिलो पटक फस्ट राउण्डमा आउट भएको थिए तर, सुरुवाती चरण महत्वपूर्ण नै रहेको थियो,’ उनी विगत सुनाउँदै भन्छन्,‘ दोस्रो चरणको खेल २०६४ सालमा प्रथम स्थान हासिल गरेर गोल्ड मेडल प्राप्त गरेका थिए ।’ गोल्ड मेडलले व्याडमिण्टन खेल यात्रामा थप हौसला र उत्साह मिलेको उनी अनुभव सुनाउछन् ।
सिक्री बेचेर प्रतियोगितामा भाग लिएको त्यो क्षण
उनको जीवनमा भुल्न नसक्ने थुप्रैवटा भोगाईका किस्साहरु छन् । ती मध्ये उनी चितवनमा भएको २३ औं राष्ट्रिय प्रतियोगिता सम्झछन् ।
जुन प्रतियोगितामा भागलिन जाँदा उनको साथमा पैसा थिएन । जसरी पनि प्रतियोगितामा भाग लिनुपर्छ भन्ने सोँचले उनले आफैले लगाएको घाँटीको सिक्री बेचेर गएको उनी सुनाउछन् ।
‘मसँगै साथमा पैसा थिएन, तर मलाई जसरी पनि त्यो प्रतियोगितामा जानुनै थियो,’ उनी सुनाउछन्,‘त्यसैले आफूले लगाएको सिक्री बेचेर भए पनि म पुगे ।’
उनी राष्ट्रिय व्याड मिन्टन प्रतियोगितामा प्रथम राउण्ड पार गरि दोस्रो राउन्डमा नेपाली सेनाका खेलाडी प्रज्वलजंग राणा सङ्ग पराजय भएका थिए । त्यसो त खेल मैदानमा हुने प्रतिस्पर्धालाई सफलता ठान्ने कटुवाल खेलाडीले खेल मैदान छोड्नुलाई हारको संज्ञा दिन्छन । विष्णुको खेल प्रतिको मोह र इच्छालाई अझै धेरै सफल बनाउदै नेपाल प्रहरी र सिंगो राष्ट्रलाई विश्व सामु चिनाउन एसपी दिपक खरेलले दिएको हौसलाले अहिले उनलाई एउटा कुशल खेलाडी बनाइदिएको कटुवाल बताउछन । खेलको मैदानमा भएको हारलाई जीतमा परिणत गर्दै अगाडी बढेका विष्णुले सन २०१४ मा कोरियाको इनछोएनमा भएको १६ औ एसियन खेलका लागि नेपालबाट ४ जना भित्र छनौटमा परेका थिए । उनले त्यो समय नेपाल प्रहरी र सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै १६ औं एसियन गेम खेलेका थिए । जुन खेल जिवनको एउटा इतिहास जस्तै बनेको उनी सुनाउँछन् । ‘कोरियाली भुमिमा खेलेर आफ्नो प्रतिभा प्रस्तुत गर्ने सुनौलो अवसर पाए, त्यो समय अमूल्य उपहार पाए जस्तै लागेको थियो,’ उनले भने,‘त्यसो त यहाँसम्म आउन थुप्रैवटा हारहरु बेहोरेको छु, हारले पनि जित्न सिकाउने रहेछ ।’
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न व्याडमिण्टन प्रतियोगितामा भाग लिइसकेको विष्णुका लागि यो खेल नसा जस्तै बनेको उनी सुनाउछन् । उनी हाँस्दै भन्छन्,‘व्याडमिण्टन र म एकअर्काको परिपुरक झैँ लाग्छ ।’
यस्तै विराटनगरमा ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता–२०२३’ नेपाल पुलिस क्लबका प्रिन्स दाहालले एकल तर्फ उपाधी जितेका थिए । यसै विधामा विष्णु र अर्माीका रुकेश महर्जन संयुक्त तेश्रो भएका थिए ।