काठमाडौँ । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले घरेलु टाेली यूएईलाई एक सय ९२ रनकाे लक्ष्य दिएकाे छ ।
यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा एक सय ९१ रनमा अलआउट भयाे । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २/२ विकेट लिए । नेपाल केहीबेरमा बलिङ गर्नेछ ।
नेपालले सुरुवाती सबै चार खेल जितेको छ । यूएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्व कप पुग्न निर्णायक हुनेछ ।
नेपालले सिङ्गापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । यस्तै यूएईले मलेसियालाई ७ विकेट, हङकङलाई एक सय ६३ रन, सिङ्गापुर र कुवेतलाई ८/८ विकेटले हराएको थियो ।
सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल यूएईसँग एक रनले डकवर्थ लुइस पद्धतिको आधारमा पराजित हुँदै दुई वटा विश्व कप खेल्न पाएको थिएन ।
नेपालले आजको खेलमा जित निकाल्न सके सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुने छ ।
नेपालले पछिल्लो पटक सन् २०१६ मा पछिल्लो पटक यू १९ विश्वकप खेलेको थियो।