विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य ११ रुपैयाँले वृद्धि गरेको छ। डीडीसीले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको हो । संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ ।
सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डीडीसीले जनाएको छ । बुधवारदेखि नै किसानले बढेको मूल्य पाएका र त्यही मूल्य आजदेखि उपभोक्ताबाट लिन थालेको डीडीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यससँगै स्टाण्डर्ड दूध (निलो प्याकेट) को मूल्य अब प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ। डीडीसीबाट वितरण हुने आधा लिटरको प्याकेटको ४८ रुपियाँ ५० पैसा कायम भएको छ। यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाण्डौ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ । त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको दुग्ध विकास संस्थानले जनाएको छ ।
चार प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस पदार्थ (एसएनफ) रहेको प्रतिलिटर दूधमा किसानले ६५ रुपैया पाउने डीडीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डीडीसीले दूधबाहेक अन्य दुग्धजन्य पदार्थको मूल्य भने नबढाएको जनाएको छ।
फोटो:फाइल