काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले सुधार गरेकाे छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले वरीयतामा सुधार गरेकाे हाे । नेपालले लिग–२ काे पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दा एकदिवसीय वरीयतामा नेपाल एक महिनामै १९ औँ स्थानबाट १५ औँ स्थानमा आइपुगेकाे हाे ।
नेपाल ओमानलाई पछि पार्दै १५ औँ स्थानमा उक्लिएकाे हाे । लिग टू खेलको अन्य देशहरुमा ओमान १६ औं स्थानमा, नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा रहेका छन् ।
नेपाल भन्दा अघि नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् ।
भारत वरीयताको पहिलो स्थानमा छ भने अष्ट्रेलिया दोश्रो तथा न्युजिल्याण्ड तेश्रो स्थानमा छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत् छ ।