मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका प्रति विभिन्न पाटीका तिन दलकाे तर्फबाट बुधबार गम्भीर ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाइएको छ ।
नेकपा (एकीकृत समाजवादी ) का नगर अध्यक्ष महेशकुमार आचार्य नेकपा ( माओवादी केन्द्र ) का नगर अध्यक्ष दुशान्त भट्टराई तथा नेपाली काँग्रेसका नगर अध्यक्ष रन्जित कार्कीकाे हस्तान्तरणमा गम्भीर ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाइएको हाे । नगर प्रमुखलाई ज्ञापनपत्र दिन गएको टोलीले नगर प्रमुखको अनुपस्थितिमा उपप्रमुखलाई ज्ञापनपत्र दिएको छ ।
ध्यानाकर्षण पत्रमा जनताकाे अहितमा गरिएका निर्णयहरू तीन दिन भित्रमा सर्वदलीय सहमति गरी नसच्याइएमा संघर्षका थप कार्यक्रमहरू अघि बढाउन बाध्य हुने व्यहाेरा समेत अनुराेधका साथ उल्लेख गरिएको छ । उक्त गम्भीर ध्यानाकर्षण भनिएको ज्ञापनपत्रमा
जनताको ढाड सेक्नेगरी वृद्धि गरिएको करको दर र घरबाटो सिफारिस दस्तुरको पुनः मूल्याकंन गर्नु पर्ने उल्लेख गरिएकाे छ । साथै नगर शिक्षा कार्यविधिको आधारमा एकलौटी ढंगले गठन गरिएको नगर शिक्षा समिति तुरून्त खारेज गरी सर्वपक्षीय सहमतिका आधारमा शिक्षाप्रेमी समाजसेवी, जग्गादाता र ख्याती प्राप्त शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्वहरूलाई विद्यालय व्यवस्थापन समितिले मनोनित गर्ने पुरानो व्यवस्था यथावत राखिनु पर्ने बारे ध्यानाकर्षण गरिएकाे छ ।
त्यसैगरी कथित शिक्षा समितिको नाममा विद्यालय व्यवस्थापन समितिमा मनोनित गरिएका दुई जना एमाले पार्टीका कार्यकर्ताहरूलाई तुरुन्त फिर्ता बोलाइयो भनी उल्लेख गरिएकाे छ । अवैज्ञानीक र अव्यवहारिक भरमा मिति २०७९ साल ११ महिना १९ गते प्रमाणीकरण गरिएको र सुन्दरहरैँचा राजपत्रमा प्रकाशित आर्थिक ऐन २०७९ (पहिलो संसोधन) का सूचांकहरू एक आपसमा बाझिएका हुनाले त्यसवाट मनोमानीढंगले कर असुल्न सकिने देखिएकाले प्राविधिक व्यक्तिहरु, राजस्व परामर्श समिति र दलिय सहमतिका आधारमा परिमार्जन गरियोस भनी ध्यानाकर्षण गरिएको छ ।
नगरपालिकाबाट अनावश्यक खर्च बढाइएको अत्यावश्यक क्षेत्रमा खर्च घटाइएको र कर्मचारीहरू माथि अनावश्यक दबाब र हस्तक्षेप गरिएका भन्ने गुनासाहरूलाई मैत्रीपूर्ण ढंगले समाधान गरियोस् भनि उल्लेख गरिएकाे छ । साथै नगर भित्रका अत्यावश्यक र महत्वपूर्ण पूराना निमार्णसम्बन्धी योजनाहरू अलपत्र पारिएकाले ती योजनाहरू तत्काल कार्यान्वयन गरियोस् भन्ने लगायतका विषयमा ध्यानाकर्षण गरिएको छ ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दै सुन्दरहरैँचा नगरपालिका उपप्रमुख अकलि चाैधरीले ज्ञापनपत्र माथि आवश्यक छलफल गरि समस्याकाे समाधानमा पहल गरिने उल्लेख गरिन ।