विराटनगर । कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ छलेन सडक विस्तारमा अवरोध हुँदै आएको सुनसरीको दुहबी बजार क्षेत्र खाली गराइएको छ । दुहबी नगरपालिकाले मंगलबार बल प्रयोग गरेरै सडक सीमा खाली गराएको हो ।
छलेन सडक आयोजना इटहरीले रानी–धरान सडक खण्डको ४९ किलोमिटरमा विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सुनसरीको दुहबी बजार क्षेत्रको ६२७ मिटर दुरीमध्ये ५० मिटर अति जटिल रहेको क्षेत्र स्थानीय सरकारले खाली गराएको हो ।
सडक ‘बिल्टअप एरिया’ १६.४६ मात्रै रहेको भन्दै केहि स्थानीयले सडक विस्तारमा अवरोध सिर्जना गर्दै आएका थिए । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशानालयले सुनसरीको दुहवी बजार क्षेत्रको २ किलोमिटर दुरीका घरटहरा हटाउन यस अगाडी सूचना जारी गरेको थियो । बुढीखोलाको पुलदेखि दुई किलोमिटर क्षेत्रमा हटाउनु पर्ने घरटहरा यस अगाडी सडक ‘बिल्टअप एरिया’ घोषणा गर्ने निर्णयका कारण रोकिएको थियो । यस अगाडी १४५० मिटर दुरी समेत सीमा क्लियर भईसकेको छ । बाँकी रहेको क्षेत्रमा स्थानीय तहले काम अगाडी बढाएको छ ।
दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले सरकारी निर्णय भएपनि सडक विस्तार अवरोध भएपछि यो पटक आफैं सक्रियता देखाएका छन् । सरकारले २०५४ साल चैत ३ गते दुहबी बजार क्षेत्रको ६२७ मिटर दुरीको सडक ‘बिल्टअप एरिया’ १६.४६ कायम गर्ने निर्णय गरेको थियो ।
सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गको मापदण्ड २०३४ सालमा केन्द्रबिन्दुबाट २५–२५ मिटर निर्धारण गरिएको थियो । तर, २०५४ सालमा तत्कालिन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारको सिफारिसमा दुहवी बजारको ६२७ मिटर क्षेत्रलाई ‘बिल्टअप एरिया’ घोषणा गर्दै सडक सीमालाई केन्द्रबिन्दुबाट दाँया–बाँया ८.३–८.३ मिटर निर्धारण गर्ने निर्णय गरिएको थियो । केहि स्थानीयले उच्च अदालतमा समेत मुद्दा हालेका थिए । तर उच्च अदालतले दायर भएको रिटमा कुनै परमादेश दिनु नपर्ने जनाएपछि स्थानीय तहले आजै भत्काउने प्रयास गरिरहेको छ ।
भारत–नेपाल–चीन जोड्ने त्रिदेशिय लाइफलाइन मानिएको रानी–किमाथाङ्का सडक खण्डको दुहबी बजार क्षेत्र छलेन विस्तारका लागि कानुनी उल्झन बाधक देखिएको छ । अन्तराष्ट्रिय राजमार्गलाई बजार क्षेत्रबाट विस्तार गर्दा बारम्बार समस्या उत्पन्न हुने स्थानीयले बताउँदै आएपनि वैकल्पिक क्षेत्रबाट सडक डाइभर्सन गर्न समेत असजिलो हुँदै आएको छ ।
व्यापारिक राजमार्ग रानी–किमाथाङ्का सडकको पहिलो खण्ड रानी–तरहरासम्मको ३४.६ किलोमिटर दुरीमा धेरै काम भईसकेको छ ।
व्यापारिक राजमार्ग आयोजना अन्तर्गत रानी–धरान सडकको ४९ किलोमिटर दुरी छ । रानी–तरहरा ३४.६ किलोमिटर र तरहरा–धरान १४.४ किलोमिटर रहेको छ । तरहरा–धरान सडक खण्डको ९ किलोमिटर दुरीमा समेत अहिले धमाधम काम भईरहेको छ ।
सरकारले दश अर्ब ९८ करोडमा रानी–धरान सडक सम्पन्न गर्ने लक्ष्य राखेको छ । जसमध्ये सात अर्ब ५३ करोडमा रानी–तरहरा र बाँकी रकमबाट तरहरा–धरान सडक खण्ड विस्तार गर्ने योजना राखिएको छ । २०६९÷२०७० सालदेखि सुरु भएको आयोजनाले अब दुहबी बजार क्षेत्रको २ किलोमिटर र धरान बजार क्षेत्रको ५ किलोमिटरको काम अन्तिम चरणमा गर्ने भएको छ ।