काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ६ जना पीडितहरूबाट नगद ३ लाख ५० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चोभारबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
फोटो : फाइल