सुजता लिम्बु
विराटनगर । लाहुरेको शहर धरान दशकौँदेखि पानीको अभावले काकुल हुनुपरेको छ । समयसँगै बढ्दै गएको जनघनत्वका कारण वितरण हुने पानीको परिणाम उत्तिकै बढ्दै गएको छ । त्यसो त धराने जनताले बेहोरेको पानीको अभाव स्थानीय निर्वाचनको प्रमुख एजेण्डा हो भन्ने कुरामा कुनै दुईमत पनि छैन । यही एजेण्डालाई टेकेर ०७४ को स्थानीय निर्वाचनमा उपमहानगरको बाघडोर सम्हाल्न स्व. तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारीलाई धराने जनताले निर्वाचित गरेर पठाए ।
सुब्बाको निधन पछि ०७६ सालको उपनिर्वाचनमा नेपाली काँग्रसका तिलक राई निर्वाचित भए । उपनिर्वाचनमा पनि हालका मयेर हर्कराज राई मेयर पदका लागि स्वतन्त्रबाट उम्मेदवार रहेका थिए । उनले (हर्क साम्पाङ) ४२४ मत ल्याएर हार बेहोरेका थिए ।
उनै हर्कलाई गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा धराने जनताले दशकौँदेखिको राजनीतिक धारबाट पछि हट्दै अपेक्षा नगरेको मत दिएर धराने जनताको समस्या सुल्झाउने स्थानमा पु¥याए । नेतृत्वप्रति धराने जनताको त्यति ठूलो अपेक्षा पनि छैन । पानीको अभावले निम्त्याएको समस्याबाट जुन नेतृत्वले उकास्न सक्छ उनै धराने जनताका लागि सफल नेतृत्व सावित हुन्छ । त्यही पानीको समस्या सुल्झाउने आँटको साथ निर्वाचनको मैदानमा एक्लै उभिएका हर्क साम्पाङले जनमत पाए तर आफ्नो मातहतमा रहको वडाअध्यक्षहरुसँग भने सँधै टसलमा बसे । समान्य भाषामा भनौँ उनले वडाको प्रतिनिधिको साथ भने पाएका छैनन् । मेयर पदमा निर्वाचित भएर शपथ पछि २३ जेठ २०७९ मा बसेको पहिलो पटकको कार्यपालिका बैठकमा उनको र वडाध्यक्षहरु बीचको सम्बन्ध चिसिदै गएको थियो ।
खोला ठेक्का लगाउने वा नलगाउने भन्ने विषयमा साम्पाङले राखेको धारणाप्रति वडाध्यक्षहरुको फरकमत थियो । मेयर साम्पाङले बैठकको समय खोला ठेक्का नलगाउने, आफै उत्खनन गर्ने र विकास निर्माणका लागि आफैले प्रयोग गर्ने भन्ने अभिव्यक्ति राख्दै गर्दा वडाध्यक्षहरु भने खोला ठेक्कामा लगाउनु पर्ने पक्षमा थिए । उपमहानगरको आन्तरिक आय निकै कमजोर भएकाले नियमित अनुगमन गरेर खोला ठेक्कामा लगाउनुपर्नेमा वडाध्यक्षाहरुले जोड दिएका थिए । पहिलो बैठक देखि आफू नेतृत्वको वडाबाट साथ नपाएको मेयर साम्पाङको कार्यकालको एकवर्ष बित्न अब करिब एकमहिना बाँकी छ । यो अवधिसम्म उपमहानगरपालिकाको कार्यपालिका बैठक सफलताको साथ सम्पन्न हुन सकेको छैन ।
मयेर साम्पाङले मागे राजीनामा
एउटा भनाई छ ‘बिना सिपाहीको जर्नेल हुँदैन ।’ लडाईमा सिपाहीले साथ नदिए जर्नेलको जीत हुँदैन त्यस्तै धराने जनताको अपेक्षा र आवश्यकताका विषयमा काम गर्नु आफू मातहतका जनप्रतिनिधिको साथ बिना सफलता प्राप्त गर्न पनि सकस हुँदो हो । बारम्बार कार्यपालिका बैठकमा असन्तुष्टि व्यक्त गर्दै बैठक बहिस्कार गरेका वडाध्यक्षहरुलाई मेयर साम्पाङले राजीनामा मागेका छन् । उनले वडाध्यक्षहरुलाई असक्षम भन्दै बिहिबार प्रेस विज्ञप्ति मार्फत राजीनामाको माग गरेका हुन् ।
यता, वडाध्यक्षहरू भने मेयरले कुनै प्रस्ताव पनि छलफल नगरी ल्याउने गरेको भन्दै साम्पाङको प्रस्तावलाई आलोचनका सथा बहिस्कार गर्दै आइरहेका छन् । बिहीबार विज्ञप्ति निकाल्दै हर्क साम्पाङले खास कारण नै बिना पटकपटक कार्यपालिका बैठक बहिस्कार गरेर जनादेशको अपमान गर्दै जनताले पाउने सुशासन र विकास पाउनुपर्ने अधिकार खेलबाड गरीरहेको बताउदै आफ्नो कर्तव्य पुरा नगरेको अवस्था अवगत गराउन विज्ञप्ति जारी गर्न बाध्य भएको उल्ल्ेख गरेका छन् ।
वडाध्यक्षहरूले कार्यपालिका बैठक बहिस्कार गरेकोमा समेत साम्पाङको असन्तुष्टि व्यक्त गरेका छन् । ‘कसैले म बैठक बस्दिन भन्न पाइँदैन, त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाइ आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ’ विज्ञप्तिमा उल्लेख छ ।
उनले जनतको भोट लिएर जनताको काम गर्न नमान्ने वडाध्यक्षहरुलाई जनताले राजिनामा माग्नुपर्ने समेत बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले रिक्त पद पूर्ती गर्न उपनिर्वाचन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
यता, उपप्रमुख अइन्द्रबिक्रम बेघाले भने वडाध्यक्ष र मेयरबीचको समस्याको हल गरेर जानुपर्नेमा सँधै सुझाव दिँदै आइरहेको बताउछन् । ‘वडाध्यक्ष ज्युहरुलाई पनि आफ्नो अडान नराख्न र मेयर सावलाई पनि आफ्नो काम र नगरको भूमिकामा जोडेर जानु भनिरहेकोछु,’ उनले भने,‘तर, अलिकति समस्या आइरहेको छ , यसलाई समाधान गर्ने तर्फ लागिरहेका छौँ ।’ यो टसललले नयाँ आउने बजेटमा समस्या पर्दैन भन्ने प्रश्नमा उनले केही समस्या हुने बताउछन् । नयाँ आउने बजेटमा छलफल गरेर जाँदा राम्रो हुने बताउदै उनले भने,‘ नयाँ आउने बजेटमा छलफल गरेर जाँदा राम्रो हुनेन्थ्यो, अब हेरौँ हामी मिलाउने प्रयासमा लागिरहेका छौँ ।’