बैशाखको महिना, टन्टलापुर घाम, एउटा बेरोजगार युवा, आफ्नो शैक्षिक योग्यताका सम्पुर्ण कागजातहरु बोकेर जागीरको खोजिमा घरबाट बाहिर निस्कन्छ, भोकै प्यासै शहरका ठुला-साना अनेक कम्पनीहरुमा भौतारिन्छ, केही पाएन उसले निराशा शिवाय, हतोत्साही उ, उदाशी अनुहार लिएर घर फर्कन बाध्य हुन्छ, बैशाखको रापिलो घाम, भोको पेट, थाकेका गोडाहरुले विश्राम मागिरहेका हुन्छन।
केही पर, नदीको किनारमा झ्याम्म परेको शिरिसको रुख, सिर-सिरे हावाले पातहरु हल्लाई रहेको देख्छ, एकछिन उसै रुखमुनि बसेर थकाई मार्ने जमर्को गर्छ।रुखमुनि बसेर अहिले सम्म पढाईमा लागेको खर्च, समय, बेरोजगार अनि आफ्नो भविष्यलाई सम्झदै सा-सान ढुङ्गाहरु नदिमा फ्याँकी रहेको हुन्छ। अचानक उसले भयानक दृश्य देख्छ, पुलबाट एउटा मान्छेले अर्को मान्छेलाई धकेलेर नदीमा फ्याकिदिन्छ र बाइक चडेर त्यहाँबाट भाग्छ, नदीबाट आवाज आइरहेको हुन्छ “ म मर्न लागें, मलाई बचाउनुहोस् , मलाई बचाउनुहोस्” त्यो देखेर बेरोजगार युवक उसलाई बचाउन उसको नजिक जान्छ। नदीमा छट्पटाई रहेको त्यो व्यक्ति निरन्तर चिच्याई रहेको हुन्छ “मलाई बचाउनुहोस्, म मरे भने मेरा छोरा छोरी पनि भोकै मर्छन” त्यो करुणादायक आवाज अनि उसलाई आफ्ना बुबाले उसलाई पढाउन गरेको दुःख उ झलझली सम्झन्छ र मैले यसलाई कुनैपनि हालतमा बचाउनै पर्छ भनि बचाउन भनेर उसको नजिक गएर हात च्याप समाउँछ तर त्यो डुब्दै गरेको मान्छे चिच्याई रहन्छ “मलाई बचाउनुहोस्, म मरे भने मेरा छोरा छोरी पनि भोक्कै मर्छन,”म‘फलानो’संस्थामा काम गर्छु” , संस्थाको नाम सुन्ने बित्तिकै बेरोजगार युवकले उसको हात त्यसै छाडीदिन्छर आँखै अगाडी उसलाई नदीले बगाएर लान्छ।
त्यो बेरोजगार युवक खुशी हुँदै आफ्ना कागजात लिएर उक्त संस्थामा गएर मेनेजरलाई भेट्छ र भन्छ “ हजुरहरूको एउटा कर्मचारी भर्खर नदीमा डुबेर मर्यो, मैले उसलाई बचाउने कोशिस पनि गरे तर बचाउन सकिन, उसको ठाँउमा मलाई काम दिनुस्, मलाई काम चाहिएको छ।“ त्यो अफिसमा अर्को एउटा मानिस पनि बसेका थिए, उक्त मानिसलाई देखाउदै मेनेजरले भने“ भर्खरै मेले उहाँलाई काममा राखिसकेको छु, माफ गर्नुहोला ! म तपाईलाई यो जागीर दिन सक्दिन”, त्यो बेरोजगार युवकले त्यो नवनियुक्त व्यक्तिलाई हेरेर एकछिन एकोहोरो हेर्यो,किनकी त्यहि व्यक्तिले त्यो पुरानो कर्मचारीलाई धकेलेर नदीमा फ्याँकी दिएको थियो।“