धाँजा फाटे जस्ता पैताला, दाबिएको पेट, कसैले जडाउरी दिएको एकसरो जीर्ण लुगा लगाएको मानिस नेताजीको पाउमा परेर रोयो, "हजुर मेरो छोरो थुनामा छ, छुटाइ दिनुपर्यो।" नेताले पिएलाई निर्देशन दिए, "यसको के समस्या हो? राम्रोसँग बुझेर सकेको कोसिस गरिदिनू।"
नेताको सहानुभूति देखेर बिचरो झन् पग्लियो। अघिको उसको मौन रुवाइ डाँकोमा परिणत भो। उसले नेताजीका दुवै पाउ छोएका हातलाई शिरमा सजायो, "हजुर त भगवान नै हो।" पिएले उसलाई आफूतिर आउने सङ्केत दियो। एकान्त कोठामा लग्यो र सोध्यो, तिम्रो छोरालाई पुलिसले किन थुन्यो?"
भित्रैदेखि भक्कानिएर उसले एकै सासमा बेलिबिस्तार लगायो, " हजुर, छोरोलाई जोगबनी(भारत) लगेर उसको साथीले औषधि बोक्न लगाएको रहेछ। नेपाल बोर्डरमा पुलिसले समात्यो रे अनि थुन्यो रे। औषधि बोक्दा पनि थुनिनु पर्छ भन्ने बिचरालाई थाहै थिएन हजुर !"
"ए त्यसो पो" पिएले ओठ लेप्र्यायो।
"ल ल चिन्ता नगर, भरेसम्म एक लाख खोजेर मलाई ल्याइदिनू, छोरो आजै छुटेर घर आउँछ।"
पिएले आदेश दियो।
"एक लाख! हजुर मैले कहाँबाट एक लाख खोज्नु? आफ्नै मासु काटेर बेच्दा पनि यत्रो पैसा जुटाउन सक्दिन।" ऊ ह्वाँ ह्वाँ रोयो।
पिएले झ्वाँक पोख्यो, "तेरो ड्रगिस्ट छोरो छुटाउने ठेक्का हामीले लिएका छौँ र? पुलिसले बिना पैसा छोड्दै छोड्दैन। कि पैसा लिएर आइज कि त छोरालाई थुनामै सड्न दे!"
ऊ अझै ठुलो आवाज निकालेर रुन खोज्दै थियो तर अचानक भयंकर ठुलो कर्कस आवाज उसको कानमा पर्यो।
"ए, को छ त्यहाँ? यसलाई बाहिर निकाल!"
यतिबेला उसले चारैतिर धमिलो देख्यो। उसले थुनामा परेको १५ बर्षको नाबालक छोरो सम्झियो अनि चुनावमा नेताजीको पछि ज्यानै फालेर दिनरात खटेको सम्झियो।
नेताजीले विजयी जुलुसमा बोलेको सम्झियो, "यो जित मेरो होइन। यो त तपाईहरू जस्ता भोकानाङ्गा गरिबहरूको जित हो!"
उसको होस् ठेगानमा थिएन। उसलाई सपना जस्तै लागिरहेको थियो। उसलाई बलिया हातहरूले समातेर घिसार्दै थिए!