अञ्जुलीभरिका फूलहरु

<span class='c1'>अञ्जुलीभरिका</span> <span class='c2'>फूलहरु</span>

-तारा पराजुली
ए सप्तकोसीका किनारहरू
कतिन्जेल बस्छौ चुपचाप यसरी
भन न ऊ कहिले आउने होला ?
यो मनको राजमार्गै राजमार्ग भएर।

यो बाटोभरि पैतालाले लेख्दै
त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै
हावाका भित्ताहरूमा झझल्कोले पोत्दै
परैबाट सोध्ला ठेगाना
क्षितिजपारिबाटै भएपनि देखाइदिनू
एकथुप्रो सपनाको बस्ती
एक झुप्रो वेदना
अस्ताउन बाँकी एक थुँगो घाम
अनि कोर्दै मेट्दै गरेको एक हरफ जोबन ।

उस्तै उस्तै लाग्छन् यी
घाम र जिन्दगी
फूल र बास्ना
जून र ज्योति
अनि ऊ र म ।

बिहान सबेरैदेखि पिठिउँमा टेक्दै जाने घाम
फूलमा मगमगाउँने सुगन्ध
जूनमा टलपलाउने ज्योति
सबै सबै उसको हो
मोनालिसाझैँ मुस्कुराउने समय उसैसँग छ।

त्यही हो उज्यालो
जसले मेरो घरसम्म बाटो पठाउँछ
बटुवाविनाको यो बाटो
जहाँ ढुङ्गाको छातीमा उभिएको सयपत्री
हाँस्न खोज्नुजस्तै हो
सम्झँदा पीडा हुन्छ अतितलाई
विस्मृति कतै पर छ ।

मसँग मात्र कहाँ हो र ?
उससँग पनि छन् रङ्ग मिल्ने सपना
पर्वमा रमाइरहेका केटाकेटीजस्तै
फुलेका छन् रहर रहरका थुँगाहरु
त्यसैले त बनायौँ हामीले एक माला इन्द्रेणी
साक्षी छन् प्रेमका अवयवले चुलिएका
सगरमाथा र किलिमन्जरो ।

उही भूगोलका फरक फरक गोलार्द्धमा
निदाएछौँ अबेरसम्म
एउटै सपना सिरानी हालेर
बिउँझदा मध्यान्ह पोखिइसकेछ
मझेरी रआँगनभरि।

समय तिमीले त सायद यस जङ्गलमा
कसैलाई पर्खनु छैन,
चौतारीमा कुरेर
भेट्नु पनि छैन कुनै बटुवा
जाऊ
हिँंड्दै जाँदा बाटैमा भेट्नेछौ
मेरो जवान उमेरछेउ सुहाएको
पहाड निस्फिक्री निदाएको
सँगै नाबालक देश पनि सुतेको छ
तिनलाई उठाऊ
म अँजुलीभरि फूल लिएर आउनेछु
तिम्रो स्वागतमा
किनकि,
यो साल जसरी पनि
एउटा हरियो शान्ति भित्र्याउनु छ
यो सुन्दर घरभित्र।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्