बनियानी । किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोपाइँको तयारी गरेको छ । जिल्लाका चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
स्थानीय कृषि सहकारी संस्थाको सहकार्यमा विर्तामोड, कनकाई र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ५० जना किसानको ८० बिघा जग्गामा मेसिनमार्फत धान रोप्न बीउ राखिसकिएको छ । साथै १५ दिनपछि रोपाइँ सुरु हुने उहाँको भनाइ छ ।
“किसानलाई प्रविधिप्रति आकर्षित गर्न प्रदर्शनीका रुपमा काम सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “कृषि सहकारीसँग सहकार्य गरेर काम अघि बढाएका छौँ, धेरै किसान इच्छुकसमेत देखिनुभएको छ ।”
धान रोप्ने मेसिनको प्रयोग गर्दा लागत घट्छ । एक बिघामा रोपाइँ गर्दा १५ जना रोपारलाई एक दिन लाग्छ भने मेसिनले रोपाइँ गर्दा आधा दिनमै रोपाइँ सकिने प्रमुख विष्ट बताउनुहुन्छ । मानिसले रोप्दा एक जना बराबर रू छ सयका दरले दैनिक ज्यालादारीे १५ जनाको रू नौ हजार लाग्ने तर मेसिनले रू चार हजार पाँच सयमा काम सकिने हुँदा किसानको झण्डै आधा रकम बचत हुने उहाँको भनाइ छ ।
“बीउ राख्ने बेलामा खर्च लागे पनि रोप्ने बेला उखेल्ने खर्च बच्छ”, उहाँले भन्नुभयो, “किसानलाई यसले धेरै राहत मिल्ने भए पनि प्रविधिबारे अझै अनविज्ञ र अन्योल रहेकाले प्रदर्शनीका रुपमा खेती गर्न लागेका हौँ ।”
सरकारले अनुदानमा दिएको धान रोप्ने मेसिन कृषि सहकारीमा छन् । ती मेसिन प्रयोग गरेबापतको भाडा केन्द्रले तिरिदिने प्रमुख विष्टले बताउनुभयो । किसानलाई अनुदानमा रकम दिनेभन्दा प्रविधि दिने उद्देश्यले काम अघि बढिरहेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र झापाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लागतमा मेसिन ल्याइएको हो । चालु आर्थिक वर्षमा केन्द्रले उक्त कार्यका लागि रू १५ लाख बजेटसमेत विनियोजन गरेको छ । यस पटक गरिएको खेती सफल भए अर्को वर्ष पाँच सय बिघामा मेसिनले धान रोप्ने केन्द्रको लक्ष्य छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सरकारले लागत सहभागितामा उपलब्ध गराएको हो ।