ताप्लेजुङमा पहिरोमा परी थप एकजना बेपत्ता भएका छन् । सिदिंवा गाउँपालिका- ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परि स्थानीय केशर राई बेपत्ता भएका छन् भने अन्य दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको स्थानीय कमल कडरियाले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
मुकुभञ्ज्याङ भन्ने स्थानमा बिहान पहिरो गएको हो । सो क्षेत्रमा पाँच दिनदेखि लगातार वर्षा भइरहेको छ । गाउँमा बस्न सक्ने अवस्था नरहेकाले स्थानीय सुरक्षित स्थानतर्फ सार्ने कोशिस गरिरहेको कडरियाले बताए । उनका अनुसार खाद्यान्नसमेत अभाव भएको छ । हिजोदेखि नै स्थानीय पहिरोको जोखिमका कारण घर छाडेकाले खानाको समेत अभाव भएको उनले बताए ।
यस्तै स्थानीय स्वास्थ्य चौकीसमेत पहिरोले बगाएका कारण प्राथमिक स्वास्थ्य उपचारको पनि अभाव रहेको स्थानीयको भनाई रहेको छ । सोहि स्थानमा आइतबार बेपत्ता रहेका गणेश तामाङको शव फेला परेको थियो भने अन्य तीनजना अझै हराइरहेका छन् ।
अविरल बर्षा नरोकिएका कारण राहत तथा उद्धारमा समस्या भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पानी पर्ने क्रम नरोकिएकोले जोखिम बढ्न सक्ने भन्दै सबैलाई सावधानि रहन आग्रह गरेकी छन् । उनले विपद् व्यवस्थापन समितिले राहत र उद्धारका कार्यलाई उच्च प्राथमिकतामा राखेको र यसकार्यमा सबै शक्ति परिचालित गरिएको बताइन् ।