विराटनगर । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा रहेको मेन्छ्यायेम अस्पताललाई सुविधायुक्त एम्बुलेन्स हस्तान्तरण भएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले एक कार्यत्रमका बिच प्रदेश स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अमृत खापुङलाई चावी तथा कागजपत्र हस्तान्तरण गरेको हो ।
प्रदेश प्रमुख पर्शुराम खापुङको चासोपश्चात प्रदेश स्वास्थ्य मन्त्रालयले सुविधायुक्त एम्बुलेन्सको व्यवस्था भएको हो । प्रदेश प्रमुखसँगको भेटमा अस्पतालमा कार्यरत नर्स सुम्निमा खापुङले एम्बुलेन्सको आवश्यकता रहेको कुरा राखेपछि प्रदेश प्रमुखले सचिवालयमार्फत मन्त्रालयमा चासो राखेको सन्देश पठाएका थिए । उक्त सन्देश प्राप्त भएपछि मन्त्रालयले तत्काल उपलब्ध गराएको हो ।
हस्तान्तरणको क्रममा मन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेश प्रमुखले इच्छा व्यक्त गर्नु भनेको उहाँको पनि विकाससँग चासो रहेको छ भन्ने बुझ्नुपर्ने बताएका थिए । अस्पतालले एम्बुलेन्स उपलब्ध भएपछि गाउँमा धेरै विरामीलाई राहत हुन सक्ने, मेन्छ्यायेम गाउँपालिकामा मात्र नभई छिमेकी पालिका र छिमेकी जिल्लालाई समेत सहयोग पुग्ने मन्त्री मेन्याङ्बोको भनाई थियो ।
कार्यक्रमको सभापतित्व गरेकी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले मन्त्रालयको व्यवस्थापन गर्नुपर्ने काम रहेको बताउँदै माग भएर आयो, मन्त्रालयले खोजेर उपलब्ध गराएको बताएकी थिइन् ।
कार्यक्रममा तेह्रथुम ‘ख’ का प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालको उपस्थिति रहेको थियो ।