काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिएका हुन् ।
उनको अनुसार पेट्रोल छ रुपियाँले घटेर 'क' बर्गमा १६१.५०, 'ख' वर्गमा १६३ र 'ग' वर्गमा १६४ रुपियाँमा झरेको छ।
त्यस्तै डीजल र मट्टीतेलमा समान चार–चार रुपियाँ घटेको छ।एलपी ग्याँसमा १० रुपियाँ घटेको छ।अब एलपी ग्याँस एक हजार ७९० रुपियाँ पर्नेछ।
डिजेलको नयाँ मूल्यअनुसार 'क' वर्गमा १४३.५, 'ख' वर्गमा १४५ र 'ग' वर्गमा १४६ रुपियाँ पुगेको छ। घटेको नयाँ मूल्य आज राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।
इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले रु ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो । निगमले अघिल्लो वर्ष नेपाल सरकारसँग लिएको रु सात अर्ब ऋणमध्ये अब रु तीन अर्ब ५० करोड तिर्न बाँकी रहेको जनाइएको छ । आयल निगमलाई अझै पनि सम्पूर्ण हिसाबले रु २९ अर्ब ऋण दायित्व रहेको छ ।