एजेन्सी । चीनमा अक्टोबर महिनालाई विवाहको मौसम मानिन्छ। विशेषगरी दक्षिणपश्चिम चीनको युनान प्रान्तस्थित लिजियाङको युलोङ स्नो माउन्टेन (जेड ड्रागन स्नो माउन्टेन) क्षेत्रमा यस समयमा विवाह गर्ने जोडीहरूको आकर्षण बढ्ने गरेको छ। किफायती खर्चका कारण चीनमा तीव्र रूपमा विस्तार भइरहेको गन्तव्य विवाह उद्योगका लागि यो स्थान उपयुक्त मानिदै गएको छ ।


होटलमा भोज आयोजना गर्ने, सजावट गर्ने र व्यापक तयारी गर्नुपर्ने परम्परागत विवाहभन्दा फरक, सानो स्तरमा गरिने गन्तव्य विवाहमा आत्मीय समारोह, फोटो खिच्ने कार्यक्रम र छोटो हनिमुन समावेश हुन्छन्। यस्तो विवाहको कुल खर्च परम्परागत विवाहको तुलनामा कम हुने गर्छ। ‘यहाँ विवाहसम्बन्धी सेवाहरूको सम्पूर्ण प्रणाली निकै व्यवस्थित र विकसित छ। हाम्रो समग्र अनुभव सहज र वास्तवमै उत्कृष्ट रह्यो,’ एक बेहुली याङले भनिन् ।

देशको जुनसुकै स्थानमा गएर विवाह दर्ता गर्न पाउने नयाँ नीति लागू भएपछि पनि गन्तव्य विवाहको लोकप्रियता बढेको छ। लिजियाङ गान्जिगानबान वेडिङ फोटोग्राफी कम्पनी लिमिटेडका उपमहाप्रबन्धक याङ होङग्वाङ भन्छन्,‘औसतमा हरेक दिन करिब २०० जोडी विवाहको फोटो खिचाउन युलोङ स्नो माउन्टेनको पर्यटकीय क्षेत्रमा आउँछन्।


तीमध्ये ९० प्रतिशत ग्राहक अन्य प्रान्तबाट आउने गरेका छन्। यस वर्षको सुरुदेखि नै हामीले दक्षिणपूर्वी एसियाबाट आउने ग्राहकको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखेका छौँ। विशेषगरी सिङ्गापुर, इन्डोनेसिया र भियतनामबाट ग्राहकहरू आइरहेका छन्।’ तथ्याङ्कअनुसार, लिजियाङमा फोटोग्राफी तथा गन्तव्य विवाहसम्बन्धी सेवा प्रदान गर्ने कम्तीमा एक हजार व्यवसाय सञ्चालनमा छन्।